नयाँ दिल्ली, ३ जेष्ठ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या पछिल्लो २६ दिनयताकै कम देखिएको छ ।
भारतमा २६ दिनपछि पहिलो पटक एक दिनमा ३ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतको स्वास्थ्य परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८१ हजार ३८६ नयाँ संक्रमित थपिएका छन् । संक्रमण कम भए पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । अहिले पनि भारतमा दैनिक ४ हजारको हाराहारीमा कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ४ हजार १ सय ६ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ४९ लाख ६५ हजार नाघेको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण २ लाख ७४ हजार ३९० जनाको मृत्यु भएको छ ।
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३५ लाख १६ हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा भारतका अधिकांश राज्यमा कोरोनाका सक्रिय संक्रमितको संख्यामा कमी आएको छ ।