काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक सपथ लिएकै दिन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् ।
शुक्रबार मात्र प्रधानमन्त्री ओलीले तेस्रो कार्यकालका लागि सपथ लिएका हुन् । उनले शुक्रबार नै बालुवाटारबाट भर्चुअल माध्यमबाट गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्घाटन गरे ।
उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हुन त कतिपय मान्छेहरुले केही पनि काम भएन भनिरहेका छन् । एकातिर केही पनि काम भएका छैनन् भनिरहेका छन्, अर्कातिर लगातार निर्माण कार्यहरु सम्पन्न भएर उद्घाटनका कामहरु भाकोभयै छन् । त्यससँग मान्छेहरु आत्तिएका छन् ।’
यसअघि पनि प्रधानमन्त्री ओलीले धरहरा निर्माण पूरा नभइ उद्घाटन गरेको भन्दै एकथरीले आलोचना गरेका थिए । त्यस्तै, सम्मेलनको केन्द्रको उनले निर्माण सम्पन्न नभइ उद्घाटन गरेका छन् । भवनभित्र सिलिङदेखि भुइँसम्मका निर्माण कार्य सकिएको थिएन ।
सम्मेलन केन्द्रको सभाहलमा एकैपटक तीन हजार मानिस बसेर सभा तथा सम्मेलन गर्न सकिने बताइएको छ । यो मुलुककै पहिलो अत्याधुनिक भवन भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
सम्मेलन केन्द्रलाई ‘गोदावरी सनराइज’ नाम दिइएको उक्त आधुनिक र प्रविधियुक्त केन्द्र निर्माणमा कोभिडको प्रभावका बीच निर्माण भइरहेको छ ।
अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी, सभा र सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने हलको अभाव नहोस् भन्दै ०७६ कात्तिकमा मन्त्रिपरिषद् बैठकले विशेष निर्णयले यो सभाहल निर्माणको कार्य अघि बढेको हो । ४३ रोपनी १५ आना क्षेत्रफलमा निर्माण भएको उक्त सम्मेलन केन्द्रका लागि सरकारले ८१ करोड खर्चेको छ ।