दिल्लीमा कोरोना महामारी नियन्त्रणका लागि सेनालाई सहयोगको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, २१ बैशाख

दिल्ली, २१ बैशाख । भारतको राजधानी दिल्लीका अधिकारीहरुले महामारी नियन्त्रणमा सहयोग गर्न सेनालाई आग्रह गरेका छन् ।
कोरोना महामारीको दोस्रो लहरको प्रभाव बढ्दै जाँदा अवस्था नाजुक बनेको भन्दै दिल्लीका अधिकारीहरुले सहयोगका लागि सेनालाई आग्रह गरेका बीबीसीले जनाएको छ ।
अक्सिजन, शैया र स्वास्थ्यकर्मीको अभावमा सहरका अस्पतालहरु सङ्कटमा पर्दै गएको दिल्ली सरकारले जनाएको छ ।
यो सङ्कटको बेलामा उपचार कक्षहरु सञ्चालन, अक्सिजनको सहज आपूर्ति लगायतका कामका लागि सेनालाई आग्रह गरेको दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले बताए ।
रक्षा समितिको नेतृत्वमा पर्याप्त स्रोतसाधनसहित सेनाले काम गर्दा महामारी नियन्त्रण र क्षति कम गर्न सहयोग पुग्ने उनले बताए ।

दिल्लीमा अक्सिजनको अभावमा सङ्क्रमितले दैनिकजसो ज्यान गुमाइरहेका छन् भने शैया अभावमा कयौँ मानिस तड्पिरहेका छन् ।
यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ३,५५,००० भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै भारतमा दुई करोड भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३४३८ जनासहित ज्यान गुमाउनेको सङ्ख्या दुई लाख २२ हजार नाघेको छ ।

प्रतिक्रिया