पोखरा, १५ बैशाख । गण्डकी प्रदेशसभाका ३ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सत्तारुढ नेकपा एमालेका सांसदहरुले पीसीआर परीक्षणपछि मात्र बैठक सञ्चालन गर्न माग राख्दै संसद अवरुद्ध गरेपछि सबै सांसदको पीसीआर परीक्षण गरिएको थियो । सो परीक्षण रिपोर्टमा ३ सांसदलाई कोरोना पुष्टि भएको हो ।
सत्तारुढ पार्टी नेकपा एमालेका दुई र प्रतिपक्ष नेपाली काँग्रेसका एक सांसदलाई कोरोना संक्रमण देखिएको जनाइएको छ । पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएका सांसदहरुले प्रदेशसभा बैठकमा भाग लिन पाउने छैनन् ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावमा मतदान गर्नबाट भने उनीहरुलाई वञ्चित नगरिने प्रदेशसभा सचिवालयले जनाएको छ । तर, उनीहरुले संसदका अन्य प्रक्रियामा भने भाग लिन पाउने छैनन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आन्तरिकरुपमा सांसदहरुलाई परीक्षणका क्रममा देखिएको रिपोर्टको बारेमा जानकारी गराइसकेको प्रदेशसभा सदस्य दीपक कोइरालाले बताए ।