महिला रेस्लिङ : सिंगल भिड्न नपाएपछि आकृतिको धुलाइमा परे नेपाली ब्रो !
अखबार टुडे
प्रकाशित:
२०७८, ५ बैशाख

काठमाडौं, ५ बैशाख । महिला रेस्लरहरुको भिडन्त हुँदैछ भनेपछि शनिबार धेरैको ध्यान भृकुटीमण्डपतिर ढल्किएको थियो । भिडन्त त भयो, तर भृकुटीमण्डपमा होइन । भिडन्त शान्तिनगरस्थित नेपाल महिला रेस्लिङ फाउण्डेशनको प्रागणमा भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको महिला रेस्लिङ प्रतियोेगितालाई पछिल्लो समय बढ्दै गरेको कोरोना संक्रमणले प्रभावित पार्यो । कोरोना संक्रमणको दोस्रो लहरले गर्दा आमन्त्रित विदेशी खेलाडी नआएपछि निर्धारित स्थानमा म्याच हुन नसकेको आयोजकले जानकारी दिएका थिए । तैपनि महिला रेस्लरहरु शनिबार खरो रुपमै उत्रिए ।
स्थानसँगै म्याचको रुटिङमा समेत फेरबदल भएको थियो । नेपाल महिला रेस्लिङ फाउण्डेशनले आयोजना गरेको उक्त म्याचमा विदेशी खेलाडी आउन नसकेपछि केही सिंगल खेलहरु हुन सकेन । जसका कारण सिंगल भिडन्तको तयारी गरेकी रेस्लर आकृति पुनले अन्तमा रोल रम्बल म्याचमा चित्त बुझाइन् ।
म्याचको सुरुमै रोल रम्बल म्याच उत्रिएका थिए, ६ जना महिला रेस्लरहरु । जसमा एक पुरुष रेस्लर मिसिए । आकृति पुन, सिर्जना कोजु, सपना तामाङ, स्नेहा थापा, गीता जिरेल र जमुना जिरेलबीच रोमाञ्चक भिडन्त भइरहेकै बेला नेपाली ब्रोको इन्ट्रि भयो । भिडन्तमो अन्तिमतिर नेपाली ब्रोलाई आकृतिले राम धुलाइ दिए । तर, उनले जित हासिल गर्न सकिनन् । अन्त्यमा हिरो सिर्जना कोजु भइन् । अर्थात रोल रम्बल म्याच सिर्जनाले जितिन् । म्याच रोमान्चक थियो । हुन त रेस्लिङ आफैँमा रोमाञ्चक खेल हो ।
नेपाली महिला रेस्लर सपना तामाङले अन्तर्राष्ट्रिय रेस्लिङमा भारतीय पुरुष रेस्लर देव द बुललाई हराउँदै जित हासिल गरिन् । यस्तै नेपालका नेपाली ब्रो तथा भारतका सुशान्त शर्मा र देव द बुलबीच भएको पुरष ट्रिपल थ्रेटमा नेपाली ब्रो विजयी भए ।
पुरुष हार्ड कोरमा भारतका हुक्का रामले नेपाली ब्रोलाई पराजित गरेका थिए । फाउण्डेशनकी अध्यक्ष भगवती खड्का युनिकाले कोरोनाका कारण विदेशबाट खेलाडी आउने नसकेको बताइन् । उनले भनिन्, तर, खेल रोमाञ्चक नै भयो ।’

प्रतिक्रिया