म्यान्मारमा जातीय सैन्य गठबन्धनद्वारा आक्रमण, कम्तिमा १० सुरक्षाकर्मीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, २८ चैत्र

यांगुन, २८ चैत । म्यानमारमा सैन्य ‘कु’को विरोध गर्दैआएका जातीय सैन्य गठबन्धनका लडाकुले प्रहरी चौकीमाथि आक्रमण गरेको छ । सो आक्रमणमा कम्तिमा १० सुरक्षाकर्मी मारिएका छन् ।
म्यानमारको पूर्वी क्षेत्रको शान प्रान्तस्थित नउङमोङमा रहेको एक प्रहरी चौकीमा जातीय सेनाको संयुक्त फौजले शनिबार आक्रमण गरेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
आराकन आर्मी, ताङ नेशनस लिबरेशन आर्मी र म्यानमार नेशनल डेमोक्रेटिक अलायन्सका लडाकुहरुले शनिबार बिहान आक्रमण गरेको बताइएको छ ।
हमलामा १० जना प्रहरी मारिएको बताइएको छ । तर स्थानीय केही मिडियाले भने १४ जना प्रहरी मारिएको दावी गरेका छन् । सेनाले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
गत फेब्रुअरीमा म्यानमारको सेनाले सत्ता कब्जा गरेपछि यहाँका जातीय समूहहरुले विरोध गर्दैआएका छन् । कतिपय स्थानलाई भूमिगत समूहहरुले कब्जामा लिएको बताइएको छ । गठबन्धनमा सहभागी समूहले ‘कू’ विरोधी प्रदर्शनलाई समर्थन जनाउँदैआएका छन् ।
विरोधका क्रममा सडक प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा हालसम्म ६ सयभन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ । म्यानमारमा पछिल्लो समय सेना आक्रामक बन्दै जाँदा झन् ठूला प्रदर्शन हन थालेका छन् । म्यान्मारमा भइसकेको सैन्य दमनलाई विभिन्न विदेशी शक्तिले आलोचना गर्दैआएका छन् ।

प्रतिक्रिया