फेरि बढ्यो वायुप्रदुषण : सिंहदरबार क्षेत्र सबैभन्दा धेरै प्रदुषित
अखबार टुडे
प्रकाशित:
२०७७, २४ चैत्र

काठमाडौं, २४ चैत । फेरि नेपालमा वायुप्रदूषण बढ्न थालेको छ । केही दिनअघि प्रदूषणमा सुधार भएपनि पुनः काठमाडौंसहित देशका विभिन्न ठाउँको वायुप्रदूषण बढ्न थालेको वातावरण विभागले जनाएको छ ।
काठमाडौं उपत्यका मंगलबार पनि विश्वकै प्रदूषित शहरको सूचीको एक नम्बरमा रहेको छ । नेपालको वायु प्रदूषणको अवस्था मापन गर्ने एक्यूआई ३ सयभन्दामाथि रहेको छ । ३ सयभन्दा माथि एक्यूआई हुनुलाई अतिहानिकारक मानिन्छ ।
विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्ल्यूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने जनाएको छ ।
काठमाडौँको सिंहदरबार क्षेत्र अहिले सबैभन्दा धेरै प्रदूषित देखिएको छ । त्यस्तै नेपालगञ्ज, पोखरालगायत सहरहरुको एक्यूआई पनि हानिकारक अवस्थामा रहेको छ । यसैबीच वायु प्रदूषण फेरि बढेसँगै यसले श्वासप्रश्वासमा समस्या हुने लगायत स्वास्थ्यमा समस्या देखा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन जनस्वास्थ्यविद्ले आग्रह गरेका छन् ।
काठमाडौंसहित देशका विभिन्न ठाउँमा तुवाँलो लागेजस्तो भएर वातावरण धुमलिएको र प्रदूषित भएकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन जनस्वास्थ्यविद्हरुको आग्रह छ ।

प्रतिक्रिया