एमाले विवाद : ‘समानान्तर कमिटीमा बस्ने सबैलाई कारबाही’
अखबार टुडे
प्रकाशित:
२०७७, २३ चैत्र

काठमाडौं, २३ चैत । नेकपा एमाले माधवकुमार नेपाल पक्षका प्रमुख सचेतक विशाल भट्टराईले समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्न सक्ने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताएका हुन् ।
‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरुलाई कारबाहीको प्रक्रिया अघि बढेको छ अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्दत हुने र त्यो कमिटीमा बस्नेहरु समेतलाई कारबाहीको दिशामा पार्टी अगाडि बढ्छ’ उनले भने ।
लोकतान्त्रिक विधि, परम्परा र विधानबाट चल्नुपर्ने पार्टीलाई गैह्रकानुनी र गैह्रसंवैधानिक तरिकाले चलाउन खोजिएको उनको भनाइ छ ।
समानान्तर कमिटी गठन गर्ने कुरा पार्टीलाई स्वीकार्य नहुने उनले बताए । उनले भने, ‘लोकतान्त्रिक विधिबाट, परम्पराबाट विधानबाट चल्नुपर्ने पार्टी यदि गैरकानुनी तरिकाले, गैरसंवैधानिक तरिकाले र अवैधानिक तरिकाले चल्छ भने स्वभाविक छ त्यो पार्टीको कारबाहीको विषय बन्छ । त्यसकारणले समानान्तर कमिटी गठन गर्ने कुरा त कुनैपनि हालतमा पार्टीका लागि स्वीकार्य विषय हुनै सक्दैन ।’

प्रतिक्रिया