कोभिडविरुद्धको चिनियाँ खोप २५ चैतदेखि लगाइँदै : कसलाई लगाइन्छ ?
अखबार टुडे
प्रकाशित:
२०७७, २२ चैत्र

काठमाडौं, २२ चैत । सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको कोभिड–१९ विरुद्धको भेरोसेल खोप यही २५ चैतदेखि लगाउने निर्णय गरेको छ । सो खोपलाई औषधि व्यवस्था विभागले गत ४ फागुनमा आपत्कालीन प्रयोगको अनुमति दिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप काठमाडौँ उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमा मात्रै लगाउने योजना बनाएको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यसअघि नै मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने निर्णय गरेको थियो ।
चिनियाँ खोप कम्पनी सिनोफार्म बेइजिङ इन्स्टिच्युटले उत्पादन गरेको खोपको ८ लाख डोज गत १६ चैतमा नेपाल आएको थियो । चीन भ्रमणमा जानेहरु, अध्ययनका लागि जाने विद्यार्थी, व्यापार व्यवसाय गर्न जानेलाई प्राथमिकतामा राखिने उनले बताए ।
कसलाई लगाइन्छ चिनियाँ खोप ?
चीनबाट प्राप्त भेरोसेल खोप काठमाडौंमा तोकिएका अस्पतालबाट दिने प्रबन्ध मिलाइएको छ । अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, चीन सरकारको छात्रवृत्तिमा चीनमा पढ्ने विद्यार्थीहरू, हिमालयपार व्यापारमा संलग्नहरू तथा चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्तिहरूले ती खोप लगाउन सक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले बताएका छन् । सो खोप करिब २८ दिनको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ ।
केही साताअगाडि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा चीन सरकारले चीनले विकास गरेको कोभिड खोप लगाएका विदेशीहरूलाई चीन आवतजावत सहज गराउन लागेको विवरण आएका थिए ।
त्यसैको पृष्ठभूमिमा चीनमा अध्ययनरत विद्यार्थी तथा चीनसँग व्यापारमा संलग्न व्यापारीहरूलाई चिनियाँ खोपमा प्राथमिकता दिन लागिएको ठानिएको छ ।

प्रतिक्रिया