अमेरिकी रक्षामन्त्रीको अर्थपूर्ण अफगानिस्तान भ्रमण
अखबार टुडे
प्रकाशित:
२०७७, ८ चैत्र

काबुल, ८ चैत (एजेन्सी) । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले अनौपचारिकरूपमा अफगानिस्तानको भ्रमण गरेको पेन्टागन श्रोतले जानकारी गराएको छ । अफगानिस्तानबाट अमेरिकी सेना फर्किन मिति नजिकिँदै गर्दा भएको यस भ्रमणलाई विश्व समुदायले अर्थपूर्ण रूपमा हेरेको छ ।
अमेरिकाले गत वर्ष अफगानिस्तानको तालिवान विद्रोहीसँग गरेको सहमति अनुसार यसै वर्षको मे १ मा सम्पूर्ण अमेरिकी सेनालाई फिर्ता गर्ने उल्लेख भएको र यसको तयारीस्वरूप रक्षामन्त्रीले अफगानिस्तानमा उच्च पदस्थ अधिकारीलगायत व्यक्तिहरूलाई भेटेको बुझिएको छ ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले यस पहिलेको सरकारले तय गरेको सेना फिर्ता गर्ने मिति मे १ मा नै सबै अमेरिकी सैनिक फिर्ता गर्न कठीन हुने बताइरहेका समय एशिया भ्रमणमा रहेका अमेरिकी रक्षामन्त्रीले अफगानी राष्ट्रपतिसँग भेट गरी वार्ता गर्नुभएको बताइएको छ ।
अमेरिकी रक्षा अधिकारीहरूले रक्षामन्त्री अफगानिस्तानबाट फिर्ता नहुँदासम्म समाचारलाई सार्वजनिक नगर्न अफगानी अधिकारीहरूलाई आग्रह गरे अनुसार भ्रमणको समाचार कभरेज ढिलो गरी भएको एएफपीलाई एक अफगानी अधिकारीले बताए ।
रक्षामन्त्री अस्टिनले यस पहिले यसै साता जापान, भारतलगायतका एशियाली मुलुकहरूको भ्रमण गरिसकेका छन् ।

प्रतिक्रिया