ठ्याक्कै दुई वर्षपछि सार्वजनिक हुँदै विप्लव
अखबार टुडे
प्रकाशित:
२०७७, २१ फाल्गुन

काठमाडौं, २१ फागुन । ठ्याक्कै दुई वर्षपछि नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदैछन् । २०७५ फागुन २८ गते सरकारले प्रतिबन्धित गरेपछि उनी भूमिगत थिए ।
सरकार र विप्लव समूहबीच बुधबार र बिहीबार भएको वार्तापछि विप्लव नेतृत्वको नेकपा खुल्ला राजनीतिमा आएको हो । जसको औपचारिक घोषणा आज दिउँसो २ बजे हुँदैछ । राष्ट्रियसभा गृहमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्तरुपमा सम्बोधन गर्दैछन् ।
उनी कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा गरेपनि प्रहरीले सूचना पाएपछि नारायणगढबाट स्कर्टिङ गरिएको छ । शुक्रबार बिहान विप्लव पश्चिम नेपालबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका थिए । विप्लव विगतदेखि नै बेलबहादुरको घरमा बस्ने, नेताहरुसँग वार्ता गर्ने गर्दथे ।
उनलाई लिन सरकारले हेलिकोप्टर पठाउने भएको थियो । तर, उनी गाडीबाटै काठमाडौं आएका छन् । काठमाडौं हिँड्नअघि उनलाई त्यहाँ उनी निकट कार्यकर्ताहरुले विदाइ गरेका थिए ।
सरकारसँगको वार्तामा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । साथै सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाएको छ भने पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइको प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया