अन्ततः शान्ति प्रक्रियामा विप्लव : तीन बुँदे सहमतिमा के छ ?
अखबार टुडे
प्रकाशित:
२०७७, २० फाल्गुन

काठमाडौं, २० फागुन । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार सार्वजनिक हुँदैछन् । सरकारले करिब दुई वर्षअघि विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै विप्लव सार्वजनिक हुने भएका हुन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले मञ्चसमेत शेयर गर्ने भएका छन् ।
सरकार र विप्लव समूहबीच बुधबार पहिलो चरणको वार्ता भएको थियो । बिहीबार तीन बुँदे सहमतिसँगै विप्लव सार्वजनिक हुन लागेका हुन् ।
विप्लव र सरकारको तर्फबाट बनाइएको दुई–दुई सदस्यीय वार्ता टोली ३ बुँदे सहमतिमा पुगेको हा । बिहीबार बिहान विप्लवका तर्फबाट खड्गबहादुर विश्वकर्मा, उदय चलाउने र सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र राजन भट्टराईबीच ३ बुँदे सहमति भएको हो ।
दुई पक्षबीच भएको सहमतिअनुसार राजनीतिक विषयको समाधान वार्ताबाट गर्ने, विप्लव पक्षले शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने, सरकारले लगाएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेज गर्ने, फागुन २१ गते विशेष समारोहबीच प्रधानमन्त्री केपी ओली र विप्लवले संयुक्तरुपमा सम्बोधन गर्ने रहेको छ ।
योसँगै सरकारले विप्लवका नेता, कार्यकर्ता पक्राउ नगर्न निर्देशन दिइसकेको छ भने प्रतिबन्ध फुकुवा गरिसकेको छ । आफैँले प्रतिबन्ध लगाएका प्रधानमन्त्रीले राष्ट्रिय सभागृहमा समारोह राखेर आफैंले फुकुवा गरेको घोषणा गर्दैछन् ।
प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने बुँदामात्र अहिले थपिएको नेकपाका अध्यक्ष ऋषि कट्टेलले बताएका छन् । उनका अनुसार ३ बुँदे सहमति ७ महिनाअघि मोहन वैद्य, आहुति, ऋषि कट्टेल र विप्लव मिलेर तयार पारेका थिए ।
अध्यक्ष कट्टेलका अनुसार सरकारले पक्राउ गरेका नेता कार्यकर्ता छोडिदिने, प्रतिबन्ध खारेज गर्ने, विप्लवले हतियारको कुरै नगर्ने, शान्तिपूर्ण राजनीतिमा आउने भनेर ३ बुँदामा सहमति गर्ने भन्ने थियो । अहिले आएर प्रधानमन्त्री र विप्लवले संयुक्त रुपमा सम्बोधन गर्ने बुँदा थपिएको रहेछ ।
गत भदौको अन्तिमतिरबाट सरकारसँग वार्ता गर्नेबारेमा छलफल भएको कट्टेलले खुलाए । भदौको अन्तिममा ऋषि कट्टेल र विप्लवले वार्तामा जानेबारेमा छलफल गरेका थिए । प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउने सुत्रधारको रुपमा कट्टेललगायतले गरेका थिए ।
भदौको अन्तिमदेखि सुरु भएको अनौपचारिक वार्ता प्रक्रिया गत मंसिर २३ गते मोरङको मिक्लाजुङमा स्थानीय सरस्वती आधारभूत प्राथमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यापछि ब्रेक लागेको थियो । अहिले वार्ता हुनुअघि मोहन वैद्य ‘किरण’, ऋषि कट्टेल, आहुति र विप्लवबीच छलफल भएको थियो ।
छलफलमा सरकारबाट प्रतिबन्ध हटाउन लगाउने र शान्तिपूर्ण राजनीतिमा जाने भनेर वार्ता गर्ने कुरा भएको कट्टेलले बताए । सरकारसँग वार्ता सुरु गर्नुअघि गणतान्त्रिक मोर्चा बनाएका ४ नेताबीच छलफल भएको थियो । वार्ताको एजेण्डा सो मोर्चाले नै बनाएको उनको भनाइ छ । छलफलमा विप्लवसहित चारै नेता सहभागी थिए ।
सरकारले ब्यापकरुपमा धरपकड गर्न थालेपछि नेता कार्यकर्ता जोगाउन विप्लवलाई चुनौती थपिएको थियो । एकातिर सक्रिय कार्यकर्ता प्रहरीले प्रक्राउ गर्ने र पक्राउ पर्नबाट जोगिएका कार्यकर्ता पनि सरकारको आक्रामक नीतिका कारण निष्क्रिय बन्न थालेपछि विप्लवको राजनीतिक शक्ति कमजोर बन्दै गएको थियो । कुनै न कुनै रुपमा उनी सरकारसँग एउटा सम्झौता गर्ने पक्षमा पुगेका थिए ।

प्रतिक्रिया