भारतले सीमा क्षेत्रमा थप १३ हजार फौज खटाउँदै
अखबार टुडे
प्रकाशित:
२०७७, २० फाल्गुन

काठमाडौं, २० फागुन । भारतको गृह मन्त्रालयले नेपाल र भुटानको सीमा क्षेत्रमा खटिएको सशस्त्र सीमाबल (एसएसबी)को युनिटको संख्यालाई बढाउने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।
एसएसबीका उच्च अधिकारीलाई उद्धत गर्दै इन्डिया टुडेले प्रकाशित गरेको समाचारअनुसार नेपाल र भुटानसँगको सीमा क्षेत्रमा थप १३ हजार फौज खटाउने निर्णय भएको छ ।
सीमा क्षेत्रमा सुरक्षालाई अझ सुदृढ बनाउन सो निर्णय भएको हो । निर्णयअनुसार अब नेपाल र भुटानसँगको सीमा क्षेत्रमा एसएसबीका १२ युनिट थपिने छन् । एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रले इन्डिया टुडे टेलिभिजनसँग भनेका छन,’प्रत्येक वर्ष चार बटालियनका दरले बढाउँदै लगिने छ ।’
त्यसैगरी नेपाल–भारत सिमानमा रहेका चार वटा एकीकृत जाँच केन्द्र (आईसीपी) ५५८ पोष्ट थप गर्ने प्रस्तावलाई पनि भारतीय गृह मन्त्रालयले स्वीकृति दिएको छ । चार आईसीपीमध्ये अहिले जोगवनी र रक्सौल संचालनमा आएका छन् ।
अहिले एसएसबीको संख्या ९० हजार रहेको छ, जो नेपाल र भुटानसँगको सीमा क्षेत्रमा खटिएका छन् । त्यसैगरी भारतीय गृह मन्त्रालयलले इन्डो तिब्बतीयन बोर्डर पुलिसको संख्यासमेत १० हजारले बढाउने निर्णय गरेको छ । सो पुलिस भारत–चीन सीमा क्षेत्रमा खटिएको छ ।

प्रतिक्रिया