प्रचण्ड-माधव समूहको स्थायी कमिटि बैठक : ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय
अखबार टुडे
प्रकाशित:
२०७७, ११ माघ

काठमाडौं, ११ माघ । नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन निर्णय गरेको छ । आइतबार नेकपा प्रचण्ड–माधव समूहको पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
प्रतिनिधिसभा विघटनबाट असन्तुष्ट भई विभाजित भएको नेकपा प्रचण्ड–माधवको नेतृत्वले यसअघि बहुमत केन्द्रीय कमिटीको सदस्यले ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चुनेको थियो । ३ माघमा बसेको स्थायी कमिटीले संविधान, लोकतन्त्र, जनता र पार्टीविरुद्ध गतिविधि गरेकाले साधारण सदस्यबाट किन नहटाउने भनेर ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेताहरुले बालुवाटारमा पुगेर ओलीलाई स्पष्टीकरण पत्रसमेत बुझाएका थिए । तर, नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले जवाफ नदिएकाले केन्द्रीय कमिटीले दिएको अधिकार प्रयोग गरेर निस्काशन गर्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आइतबार बसेको स्थायी कमिटि बैठकले पार्टी कार्यालय सचिवमा गंगालाल तुलाधरलाई थपेको छ भने उपसचिवमा मोहन गौतमलाई मनेनित गरेको छ । स्थायी कमिटी बैठकले ओली समूहले विसर्जनवादी कोणबाट प्रहार गरेपनि पार्टीको एकीकृत स्वरुप कायमै रहेको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया