प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा : पाँचौँ दिनको सुनुवाइ हेर्दाहैदैमा…, शुक्रबार पनि बहस हुँदै
अखबार टुडे
प्रकाशित:
२०७७, ८ माघ

काठमाडौं, ८ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा भएको पाँचौँ दिन बिहीबारको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दै शुक्रबार तय भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस गरिएको पाँचौँ दिन आज तीन रिट निवेदकसहित सात जनाले बहस गरेका थिए ।
रिट निवेदक कञ्चनकृष्ण न्यौपानेका तर्फबाट अधिवक्ता ओमप्रकाश अर्यालले बहस गर्दै संसद् विघटन गर्ने व्यवस्था संविधानमा नभएको तर्क राखे । अधिवक्ता अर्यालले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने निर्णय अहिलेसम्म राजपत्रमा प्रकाशित नभएको बताए । न्यायाधीश सिन्हाले उक्त निर्णय राजपत्रमा प्रकाशित भएको भए इजलाससमक्ष पेश गर्न महान्यायाधिवक्ता कार्यालयमार्फत सरकारी वकिललाई आग्रह गरे ।
रिट निवेदक समृत खरेल र सुलभ खरेलका तर्फबाट अधिवक्ता टीकाराम भट्टराईले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था संविधानमा नभएको तर्क पेश गरे । रिट निवेदक ज्ञानेन्द्र आरण, वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने र अधिवक्ता ठगेन्द्र गिरीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको तर्क राखेका थिए ।
बिहीबारसम्म रिट निवेदकका तर्फबाट २५ कानून व्यवसायीले बहस गरे । इजलासले समयमा निकै कडाइ गरेको छ । बिहीबार वरिष्ठ अधिवक्तालाई आधा घण्टा र अधिवक्तालाई १५ मिनेटको समय निर्धारण गरिएको थियो । गत पुस ११ गतेदेखि सर्वाेच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।
उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै यही माघ २ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो । रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भयो ।
गत १० पुस गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशअनुसार राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले गत पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेका छन् ।
अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिश र निर्णयको सक्कलप्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने तथा प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो ।
अदालतका सहयोगी (एमिकस क्युरी) मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् ।
प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख लगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया