अस्ट्रेलियामा जारी बिगबास लिग : सन्दीपले शनिबार पहिलो खेल खेल्दै
अखबार टुडे
प्रकाशित:
२०७७, १७ पुष

काठमाडौं, १७ पुस । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिगबास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्दैछन् । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् ।
लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन् । होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको संक्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाएका थिए ।
नेपालमै छँदै कोरोनाबाट संक्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो । अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित हुनुभएको व्यवस्थापक शिवाकोटीले जानकारी दिए । उनी बुधबार क्वारेन्टाइन मुक्त भएका हुन् । उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । हालसम्म खेलेका छ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा रहेको छ ।
बिगबास खेल्न लामिछाने गत मङ्सिर ३० गते अष्ट्रेलिया गएका हुन् । क्वारेन्टाइन अवधि सकिएपछि उनी नियमित अभयासमा जुट्नुभएको व्यवस्थापक शिवाकोटीले बताए । लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुने बताइएको छ । उनले तेस्रो पटक बिगबास लिग खेल्न लागेका हुन् । यसअघि उनले दुई यामको बिगबास मेलवर्न स्टार्सबाट खेलेका थिए । ती दुई याममा उनले कूल २० खेल खेल्दै २६ विकेट लिएका थिए ।

प्रतिक्रिया