प्रधानमन्त्रीद्वारा तमु ल्होछारको शुभकामना : भने, ‘हामी राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा छौँ’
अखबार टुडे
प्रकाशित:
२०७७, १५ पुष

काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
तमु गुरुङ समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारका अवसरमा शुभकामना सन्देश दिँदै उनले प्रचलित भाषा, धर्म, संस्कृति, वेशभूषालगायत विविधता हाम्रा बहुमूल्य पूँजी रहेको बताएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको र यहाँ बहुसांस्कृतिक विशेषता मौलिक पूँजीका रुपमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘एकता र सहिष्णुताको भाषा, धर्म, संस्कृति, वेशभूषा बहुमूल्य पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्दछ । विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् ।’
नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको उल्लेख गर्दै विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गरी यहाँ विभिन्न भाषा, लिपि, संस्कृति सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उनको भनाइ छ ।
‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो । यस विशेषतालाई आत्मसात् गर्दै हामी ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा छौँ’ उनले सन्देशमा भनेका छन् ।

प्रतिक्रिया