अमेरिकी राष्ट्रपति निर्वाचन : जो बाइडनको औपचारिक जित
अखबार टुडे
प्रकाशित:
२०७७, ३० मंसिर

काठमाडौं, ३० मंसिर (बिबिसी) । अमेरिकी इलेक्टरल कलेजका सदस्यहरुले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित भएको पुष्टि गरेका छन् । यो राष्ट्रपतिको जितलाई औपचारिकता दिने अन्तिममध्ये एउटा चरण हो ।
गत नोभेम्बरमा भएको चुनावमा डेमोक्र्याटहरूले ३०६ इलेक्टरल कलेज मत ल्याएका थिए भने रिपब्लिकन डोनल्ड ट्रम्पले २३२ ल्याएका थिए । अमेरिकी प्रणालीअनुसार, मतदाताहरूले खासमा ‘इलेक्टरलहरूलाई’ मत दिन्छन्, जसले चुनावपछि उम्मेदवारलाई औपचारिक रूपमा मत दिन्छन् । यो प्रक्रिया भएपनि राष्ट्रपति ट्रम्पले मत परिणाम स्वीकार गर्ने ठानिएको छैन ।
सामान्यतया इलेक्टरलहरूले खासै ध्यान आकृष्ट गर्दैनन् तर यो वर्ष ट्रम्पको निरन्तर मत परिणाम उल्ट्याउने प्रयासले गर्दा राज्यपिच्छेका मतहरू चर्चामा रहे । उनले कतिपय राज्यमा त मुद्दा पनि हाले तर ती सबै अदालतले उनको दाबी अस्वीकार गरेका छन् ।
डेमोक्र्याटहरूको बलियो उपस्थिति रहेको क्यालिफोर्निया सोमबार मत हाल्ने अन्तिम राज्य थियो, जहाँ ५५ इलेक्टरल मत छ । त्यहीँको मतले बाइडनलाई राष्ट्रपति जित्न आवश्यक पर्ने २७० को सीमा पार गराएको थियो । मिसिगन र जोर्जिआजस्ता केही राज्यहरूमा मतदानअघि सुरक्षा व्यवस्था उच्च पारिएको थियो ।
मतदान प्रक्रियाको परिणाम अब वासिङ्टन डिसी पठाइन्छ र ६ ज्यानुअरीमा कंग्रेसमा उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा हुने संयुक्त सत्रमा औपचारिक रुपमा गणना गरिन्छ । त्यसले ज्यानुअरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिन जो बाइडनलाई बाटो खोल्छ ।

प्रतिक्रिया