बैतडी, ९ मंसिर । जिल्लाको दशरथचन्द नपा–१० बुड्डामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शुरनयाँ गाउँपालिका–४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–५ का ७७ वर्षीय भगीरत पाण्डेय, दशरथचन्द नगरपालिका–५ का ७२ वर्षीया पार्वती चन्द, पाटन नपा–५ ७० वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नपा–२ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको हो ।
दुर्घटनामा परी अन्य चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार भारतसँग सीमा जोडिएको झुलाघाटबाट सदरमुकाम गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नपा–१० बुड्डामा आज दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त जीप सडकबाट २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा जीपका चालक गोपालसिंह कार्की गम्भीर घाइते भएका छन् । उनको धनगढीमा उपचार भैरहेको छ । अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका उनीहरु पेन्सन बुझेर घर फर्कने क्रममा थिए ।