प्रदेश-५ को नाम र राजधानी टुंगो लाग्यो : राजधानी ‘देउखुरी’ र नाम ‘लुम्बिनी’
अखबार टुडे
प्रकाशित:
२०७७, २० आश्विन

रुपन्देही, २० असोज । प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको टुंगो लागेको छ । मंगलबार प्रदेशसभा बैठकले मतदान प्रक्रियामार्फत् नाम र राजधानी टुंगो लगाएको छ । प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेश राजधानी दाङको देउखुरी क्षेत्रको भालुवाङ बजार र नाम ‘लुम्बिनी’ बहुमतले पारित भएको हो ।
प्रदेशको राजधानी देउखुरी तोक्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ । प्रदेशसभाका ८७ जनामध्ये बैठकमा मंगलबार ८२ सांसदमात्र सहभागी थिए । त्यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा चार मत परेको छ ।
पदेश ५ को सरकारले दाङको देउखुरीको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव असोज १६ गते प्रदेशसभामा पेश गरेको थियो ।
राजधानी कायम गर्न ८७ सांसदमध्ये ५८ जना भएमात्रै पुग्छ । प्रदेशसभामा उपस्थित ८३ सांसदमध्ये १३ जनाले मात्रै विपक्षमा मत दिए । जनमोर्चाले मत दिएको छैन् । नेपाली कांग्रेसका लुम्बिनी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदले विपक्षमा मतदान गरे। पार्टीको ह्वीप उलंघन गर्दै राप्ती पारिका चार सांसदले पक्षमा मत दिएका हुन् ।
समाजवादी पार्टीले राजधानीको पक्षमा मत दिएको थियो । प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावसमेत पारित भएको छ । लुम्बिनीको पक्षमा ७९ मत परेको छ । विपक्षमा ४ मतमात्रै परेको थियो । जनता समाजवादी पार्टीले अवध–थारुवान–मतरात नामको पक्षमा मत दिने गरी संशोधन दर्ता गराए पनि लुम्बिनी क्षेत्रका दुई सांसदले लुम्बिनी नाममा मत दिएका थिए ।

प्रतिक्रिया