घुससहित पक्राउ परेका प्रहरी नायब निरीक्षक राउतविरुद्ध मुद्धा दायर
अखबार टुडे
प्रकाशित:
२०८३, २६ बैशाख

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिने तथा मुद्दा मिलापत्र गराइदिने भन्दै राउतले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीपछि अनुसन्धान गरिएको थियो । टंगालबाट खटिएको अख्तियारको टोलीले राउतलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा चेक अनादर अर्थात् ‘चेक बाउन्स’ सम्बन्धी बैंकिङ कसुर मुद्दाको मिलापत्र प्रक्रिया सहजीकरण गरिदिने भन्दै विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिई २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगले राउतविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत कसुर कायम गर्दै २० हजार रुपैयाँ बिगो निर्धारण गरेको छ । सोही ऐनअनुसार कैद र बिगो बराबर जरिवानाको मागदाबी गर्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया