सूर्यप्रकाश चेम्जोङ निर्देशित चलचित्र ‘सेक्मुरी’ असार तेस्रो साता प्रदर्शनमा आउने
अखबार टुडे
प्रकाशित:
२०८३, १ बैशाख

काठमाडौं । लिम्बुनी फिल्म्स प्रोडक्शनको निर्माण रहेको लिम्बुजातिको संस्कार एवं संस्कृतिमा आधारिक चलचित्र ‘सेक्मुरी’ असारको तेस्रो साता रिलिज हुने भएको छ । हाल यो चलचित्रको प्राविधिक कार्य भैरहेको छ ।

निर्देशक सूर्यप्रकाश चेम्जोङको लेखक तथा निर्देशक रहेको चलचित्र ‘सेक्मुरी’मा पूर्ण सेलिङ, चन्द्रकला नेम्बाङ, माया तामाङ, सुनाहाङ चेम्जोङ, मुनेन्द्र नेम्बाङ र युवराज चेम्जोङ निर्माता रहेका छन् भने रविनकुमार नाल्बो, घनेन्द्रराज फियाक, इन्दु लावती, पूर्ण तुम्बापो, एल.बी रहपाल, जानुका फियाक, तेजबहादुर चेम्जोङ, भेषराज चेम्जोङ, उदिप कुमार चेम्जोङ, सोम आङ्देम्बे, हरिश्चन्द्र लावती र अर्जुन तुम्रोकको सह निर्माण रहेको छ ।

लेखक÷निर्देशक सूर्यप्रकाशका अनुसार ‘सेक्मुरी’मा लिम्बू समुदायमा अकालमा हुने मृत्युलाई पृष्ठभूमि बनाइएको छ । उनले भने, ‘हाम्रो जातिमा कसैको अकालमा मृत्यु भएमा परम्पराअनुसार अन्तिम संस्कार गर्ने चलन छैन । ‘येबा’ बोलाएर बाटो लगाइन्छ । त्यसको छुट्टै विधि हुन्छ । तर, अकालको मृत्यु पनि दुई प्रकारको हुन्छ– आत्महत्या र दुर्घटना । तर आत्महत्या र दुर्घटनालाई कतिपय मानिसहरुले एउटै दर्जामा राखेको पाइन्छ । जसले गर्दा दुर्घटनाबाट मृत्यु भएकाहरुको परम्परा अनुसार संस्कार नगर्ने चलन पनि छ ।’

उनले थपे, ‘अर्को, कुरा आजकल व्यस्त जीवनशैली र परिवर्तित आधुनिक सोचका कारण कसैले व्यस्तताको बहाना गरेर त, कसैले जरुरी नठानेर परम्परादेखि चलिआएका यस्ता मृत्यु संस्कार छोट्याएर गर्ने वा आफ्नै तरिकाले विधि नपुर्याई गर्ने प्रचलन बढिरहेको छ । दुर्घटनाबाट मृत्यु भएकाहरुको पनि कल्चरअनुसार नै संस्कार गरौँ र चलिआएको परम्परालाई जस्ताको तस्तै पालना गरौँ भन्ने सन्देश दिनु नै चलचित्रको मूल उद्देश्य हो ।’

निर्देशक चेम्जोङले आफू सानो उमेरमा देखेको घटनाको स्मरण गर्दै भने, ‘एकपटक हाम्रो वंशमा लगातार धेरै मानिस मरे । कति त लामो समयसम्म बिरामी भएर थलिए । त्यो बेलाको प्रचलनअनुसार बिजुवा–धामी लाउँदा कुनै पुर्खाको मृत्यु संस्कार विधिपूर्वक नभएको र त्यही आत्मा भड्किएर दुःख दिएको भन्ने कुरा आयो । त्यसपछि तीन राते तङ्सिङ गरेर येबाको माध्यमबाट मृत आत्माहरुलाई चित नबुझेका कुराहरु पूरा गरि दिएपछि बिस्तारै राम्रो हुँदै आयो । त्यही भएर यस विषयमा काम गरौँ भन्ने सोचले यो फिल्म बनाएको हुँ ।‘

चलचित्रमा यासेली योङ्हाङको गीत, अशोक लोहरुङ राईको संगीत तथा राजेशपायल राई र सुनिता थेगिमको स्वर रहेको छ भने लक्ष्मी योङ्हाङ र नरेश वनेमले नायक÷नायिकाको भूमिकामा अभिनय गरेका छन् । चलचित्रमा प्रेम सुब्बा, पूर्ण सेलिङ, पवि तेम्बे, सीता राई, मुना चेम्जोङ, सागर केरुङ, याम नेयोङ, माया तामाङ, इन्दु तुम्सा, अल्का चोङ्बाङ, उदय बेघा, यासेली योङ्हाङ, जानुका फियाक, रिया कन्दङवा, कोपिला चेम्जोङ, मिना नेम्बाङ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा बाल कलाकारको भूमिकामा सन्जोग वनेमले अभिनय गरेका छन् ।

पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको ‘सेक्मुरी’मा युवराज राई (वीरबहादुर)को सिनेमाटोग्राफी, कृष्ण भण्डारीको सम्पादन, अशोक राईको पाश्र्वसङ्गीत र निश्चल राईको कला निर्देशन रहेको छ ।

फिल्ममा सहनिर्देशकको रुपमा महेश्वर सम्बाहाम्फे र दिनेश माङ्मु र प्रोडक्शन भेषराज चेम्जोङ र ज्ञानु तुम्बाहम्फेले जिम्मेवारी सम्हालेका छन् । चलचित्र नेपाली भाषामा भएपनि कतै–कतै पात्रहरुले लिम्बु भाषा पनि बोल्ने छन् ।

पाँचथर, फाल्गुनन्द गाउँपालिकाका स्थायी बासिन्दा निर्देशक चेम्जोङ एक समयका प्रसिद्ध रङ्गकर्मी हुन् । डेढ दशकसम्म नाटक लेखन, निर्देशन र अभिनयमा क्रियाशील रहेका उनले यसअघि लिम्बु भाषाको चलचित्र ‘माराम’ (मूलबाटो) का साथै पेको सामा, सुनुयेनको वर्थ डे र सिवा खाहुन शीर्षकका ३ वटा शर्टमुभीको निर्देशन गरेका छन् ।

प्रतिक्रिया