
काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित आफ्नो जग्गामा बसेर वर्षौंदेखि भाडा नतिर्ने संघ–संस्था, निजी व्यवसायीका पसल तथा मिडियाका कार्यालयमा सोमबार ताला लगाएको छ ।
परिषद्ले भाडा सम्झौता गरेर २०८२ को अन्तिम दिन सोमबारसम्म चुक्ता नगर्ने संस्था तथा व्यवसायीहरूको नाम र भाडा वापतको वक्यौता रकमसमेत सार्वजनिक गरेको छ ।
परिषद्का सदस्यसचिव सरोजकुमार शर्माका अनुसार सामाजिक संस्था, खाजा पसल, जुत्ता पसल, मिडिया कार्यालय, विद्यार्थी संगठन लगायतले १० करोड ५४ लाख रकम चुक्ता गरेका छैनन् । उननका अनुसार पटकपटक पत्रचार र पत्रपत्रिकाबाट सूचना प्रकाशित गर्दासमेत भाडा तिर्न अटेरी गर्दै आएपछि ताला लगाएको हो ।
पटकपटक भाडा वापतको रकम बुझाउन ताकेता गर्दासमेत अटेरी गरेपछि सोमबार ताला लगाउनु परेको परिषद्ले स्पष्ट पारेको छ ।
२१ चैत २०८१ मा ३५ दिने म्याद, गत माघमा पत्रचार र गत फागुनमा १५ दिने म्यादलाई समेत बेवास्ता गरिएपछि ताला लगाउनु परेको सरकारी पक्षले जानकारी गराएको छ ।
परिषद्ले २०५४ सालदेखि भाडा नतिर्नेको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार हरि अमात्यको नाममा रहेको ४३ नम्बर स्टलले २०५४ साउनदेखिको भाडा तिरेको छैन । ऋषि धमला अध्यक्ष रहेको रिपोर्टस क्लबले ७३ लाख ४० हजार ९०१ रुपैयाँ समाज कल्याण परिषद्लाई तिर्न बाँकी छ ।
सदस्यसचिव शर्माका अनुसार ५६ स्टलले भाडा तिरेका छैनन् । तीमध्ये ३६ वटाले भाडा नतिरी स्थान अर्को व्यक्ति वा संस्थालाई हस्तान्तरण गरेका छन् । विगतमा समाज कल्याण परिषद्सँग सम्झौता गर्ने व्यक्तिले भाडा वापतको रकम चुक्ता नगरी पसल अर्को व्यक्तिलाई हस्तान्तरण गर्दा थप समस्या उत्पन्न भएको छ ।
सोमबार दलबलसहित ताला लगाउन गएका परिषद्का कर्मचारीसँग केही व्यवसायीको भनाभनसमेत भएको थियो । परिषद्सँग सम्झौता गर्ने व्यक्ति र हाल पसल सञ्चालन गर्ने व्यक्ति फरक–फरक हुँदा ताला लगाउने क्रममा विवाद भएको थियो ।
पसलको स्वामित्व परिवर्तन भएको जानकारी व्यवसायीले परिषद्लाई जानकारी नदिने र परिषद्ले समेत नयाँ व्यक्तिसँग पुनः सम्झौता नगर्दा भाडा असुल उपर गर्न समस्या रहेको पसलेहरूले जानकारी गराएका छन् ।
ताला लगाउने टोलीसँग व्यवसायीको गुनासो थियो, ‘पसलको स्वामित्व फेरिएकाहरूको अद्यावधिक गर्न सूचना किन निकाल्नु हुन्न ?’ पसल र संघसंस्था सञ्चालन गर्नेहरूबाट २ करोड ७४ लाख रुपैयाँ भाडा उठाउन बाँकी रहेको परिषद्ले जानकारी दियो ।
भृकुटीमण्डपमा रहेको परिषद् मातहतमा २१४ रोपनीमा भवन, स्टल, बुथहरू सञ्चालित छन् । परिषद्ले टहराहरूको लागि प्रति वर्गफिट ८६ रुपैयाँ र पक्की भवनहरूको हकमा प्रति वर्ग फिट ९६ रुपैयाँ तोकेको छ ।
को–कोले तिरेनन् भाडा ?
सबैभन्दा धेरै भाडा तिर्न बाँकी रहेको संस्था काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय रहेको समाज कल्याण परिषद्ले जानकारी दिएको छ । यो संस्थाले सञ्चालन गरेको ६८ नम्बर स्टलको १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ भाडा तिर्न बाँकी छ । अर्को स्टल ३४ नम्बरले १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ तिर्न बाँकी छ ।
उपभोक्ता मञ्च नेपालले ४५ लाख ५७ हजार ९०७ रुपैयाँ तिरेको छैन । उपभोक्ता मञ्च नेपाल स्टल १ र २, सामाजिक संस्था उपभोक्ता मञ्चले २०५४ माघ २ गतेदेखि भाडामा लिएको थियो । तीन वर्ष अवधि थपेरसमेत २०५७ माघ १ गते अवधि सकिएको थियो ।
असुल उपर गर्न ६ पटक प्रयास गरिए पनि सम्भव नभएको परिषद्ले जानकारी गराएको छ । दुई स्टल लिएको उपभोक्ता मञ्चले परिषद्को स्वीकृति विना एउटा स्टल अर्कै व्यक्तिलाई खाजा पसल सञ्चालन गर्न दिएको छ ।
लोकतान्त्रिक शहीद तथा घाइते समाजले १४ लाख ६१ हजार ३७० तिर्नुपर्ने रकम पाँच पटक पत्राचार गर्दा पनि चुक्ता नगरेको समाज कल्याण परिषद्ले जनाएको छ । यस संस्थाले पनि परिषद्को स्वीकृति विना खाजा पसल सञ्चालन गर्न व्यक्तिलाई भाडामा लगाएको छ ।
राष्ट्रिय अपांग महासंघले पनि १ करोड १६ लाख ३२ हार २७ रुपैयाँ भाडा नतिरेको परिषद्ले जनाएको छ । बालबालिकाका लागि गैरसरकारी संस्था महासंघ नेपाल स्टल नम्बर ७४ ले पनि ८९ लाख ९० हजार ७४६ रुपैयाँ भाडा तिरेको छैन ।
समाज कल्याण मातहत रहेको भवनमा प्रयोग गरेर भाडा नतिर्नेमा नेकपा एमालेको विद्यार्थी संगठन पनि छ । अनेरास्ववियुले स्टल नम्बर ६० र ६१ भाडामा लिएको र २०७७ सालदेखि अहिलेसम्म भाडा नतिरेको परिषद्ले जनाएको छ ।
नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्चले २१ लाख ८५ हजार ९५७ रुपैयाँ तिर्न बाँकी छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले २०६२ माघ १९ देखिको ३३ लाख ७ हजार ४२१ रुपैयाँ तिरेको छैन । हालसम्म पाँच पटक पत्राचार एवं सार्वजनिक सूचना जारी गर्दासमेत महासंघ काठमाडौंले अटेरी गरेको परिषद्ले जनाएको छ ।
सेन्थेसिस एक्जिबिसन एन्ड इभेन्ट्सले १० लाख, मनकला श्रेष्ठ जुत्ता पसलले ७ लाख ४६ हजार २३, टीकाराम सिटौला जुत्ता पसलले ११ लाख ८० हजार ६२५, कृष्णप्रसाद लामिछाने जुत्ता पसलले ८ लाख ९८ हजार १६३, यशोदाकुमारी सेठी खाजा पसलले १० लाख ५९ लाख १५६ रुपैयाँ, हरि हमात्य खाजा पसलले ५ लाख १५ हजार ६६४ रुपैयाँ भाडा तिर्न बाँकी छ ।
नारायणकुमारी निरौला खाजा पसलले २ लाख ७३ हजार १३, बुद्धिराम भुसाल खाजा पसलले ६ लाख ८७ हजार ७३४ रुपैयाँ, मञ्जु तिमिल्सिना खाजा पसलले ९ लाख ७ हजार ७१०, चित्रबहादुर पण्डित क्षेत्री खाजा पसलले २ लाख १९ हजार ५६७, नेपाल फोटो पत्रकार महासंघले २० लाख ६८ हजार रुपैयाँ भाडा नतिरेपछि आज ताला लगाइएको छ ।
समाज कल्याण परिषद्का सदस्य सचिव शर्माले विगतमा राजनीतिक दलको आडमा भाडा नतिरेको आशंका गरे । ‘राज्यलाई टेरेनन् । राजनीतिक संरक्षण पनि भयो होला । ताला लगाएपछि चुक्ता गर्नका लागि एक साताको अवधि दिन्छौं,’ सदस्य सचिव शर्माले भने, ‘त्यो अवधिमा पनि तिरेनन् भने असुल गर्न राज्यले अर्को कदम चाल्छ ।’
