देशभर मतगणना जारी : छलाङ मार्दै रास्वपा, झापा-५ मा ओलीभन्दा बालेन दोब्बर मतले अगाडि
अखबार टुडे
प्रकाशित:
२०८२, २२ फाल्गुन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मत गणनामा देशका अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्त पार्टी (रास्वपा) अग्रस्थानमा आएको छ । काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये १४ वटा क्षेत्रमा रास्वपाले अग्रता लिएको छ ।

काठमाडौंका १० तथा ललितपुर र भक्तपुरका २र२ वटै क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका हुन् । काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ विराजभक्त महर्जन, काठमाडौं ९ मा डीपी अर्याल र काठमाडौं १० मा प्रदीप विष्टले अग्रता कायम गरेका छन् ।

यसैगरी ललितपुर २ मा जगदिश खरेल र ३ मा तोसिमा कार्कीले अग्रता लिएका छन् । ललितपुर क्षेत्रनम्बर १ मा भने कांग्रेसका उदय शम्सेर राणाले अग्रता लिएका छन् ।

भक्तपुरका दुईवटै क्षेत्रमा रास्वपा उम्मेदवारहरु अगाडि छन् । नेमकिपाको गढ मानिने क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जित अगाडि छन् । नेमकिपाका प्रेम सुवालले उनलाई पछ्याइरहेका छन् । यसैगरी भक्तपुर क्षेत्र नम्बर २ मा राजिव खत्रीले अग्रता लिँदा एमाले उम्मेदवार महेश बस्नेत पछि परेका छन् ।

यस्तै, झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना अनुसार रास्वपाका वरिष्ठ नेता बालेन साह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा दोब्बर बढी मतले अगाडि छन् । पछिल्लो मत परिणाम अनुसार साहले १ हजार ४ सय ७८ मत प्राप्त गर्दा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले १ सय ३९ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का रञ्जित तामाङले ५९, कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेका छन् ।

यस्तै, चितवन क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले अग्रता लिएका छन् । अहिलेसम्म ६ हजार ६ सय २३ मत गणना हुँदा रविले २ हजार ८ सय १ मतसाथ अग्रता लिएका छन् । रविलाई पछ्याउँदै एमाले उम्मेदवार अस्मिन घिमिरे दोस्रो स्थानमा १ हजार २ सय ५९ मत पाएका छन् ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १ हजार १ सय ५१ मत पाएका छन् भने नेपाली कांग्रेसका मिना खरेल ९ सय १६ मत पाएकी छिन् । अहिले बिहानसम्मको मतपरिणाम अनुसार रास्वपाल ४१ क्षेत्रमा अग्रता लिएको छ । यस्तै, नेपाली कांग्रेसले ५ र एमालेले ४ क्षेत्रमा अग्रता लिएको छ ।

प्रतिक्रिया