
काठमाडौं । काठमाडौंमा मर्निङवाकमा जसले लुटपाट गर्दथे, प्रहरीले गोली हानेर १० जनालाई पक्राउ गर्याे, यससँगै काठमाडौंमा तीन महिनादेखि यताको एउटा लुट आतंकको अन्त्य भएको छ ।
मोटरसाइकलमा तीन जना चढेर सुनका गहना तथा नगद लुट्ने र भाग्ने घटना दिनहुँ हुन थालेपछि प्रहरी हैरान बनेको थियो । पछिल्लो तीन महिनामा मध्यराति १२ बजेदेखि बिहान ४ बजेसम्म यस्ता घटना लगातार हुन थालेका थिए । सीसीटीभी फुटेज हेर्दा मोटरसाइकल नम्बर देखिँदैनथ्यो, किनभने लुटेराहरूले नम्बर प्लेटमा हिलो छ्यापेर चलाएका हुन्थे ।
मोटरसाइकलमा ट्रिपल लोड हिँड्ने ती लु’टेराहरू लु’टपाट गरेपछि राइड सेयरिङ प्रयोग गर्थे र प्रहरीलाई छक्याउँथे । एकान्तमा हिँडेका महिला र रातको समयमा व्यवसाय गर्नेहरू लु’टेराको निशानामा पर्ने गरेका थिए ।
माघ १४ मा मध्यरात जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले लुटेराहरूविरुद्ध अपरेसन चलाए । काठमाडौँ परिसरबाट खटिएको टोलीप्रहरी वृत्त बौद्धका डीएसपी सन्तोष रोकाको नेतृत्वको टोली तथा गौशाला, महाराजगञ्ज र स्वयम्भू वृत्तबाट खटिएका प्रहरीले विभिन्न ठाउँमा घेराबन्दी गरे । बुधवार मध्यराति मुलपानीमा गोली चलाएर लु’टेरा समूहका मुख्य योजनाकार विनय तामाङलाई नियन्त्रणमा लिइएको काठमाडौंका एसएसपी रमेश थापाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
उनले भने, ‘शंकास्पद मोटरसाइकल रोक्न खोज्दा प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि जवाफी फायरिङ गर्दा उनको दायाँ खुट्टामा गोली लागेको छ ।’ विनय मात्रै पक्राउ परेनन्, उनको समूहका १० जना पक्राउ परेका छन् । उनीहरू पक्राउ परेसँगै तीन महिनादेखिको काठमाडौंमा रहेको लुट आतंकको अन्त्य भएको छ ।
