मेयरबाट राजिनामा दिने तयारीमा बालेन शाह
अखबार टुडे
प्रकाशित:
२०८२, २ माघ

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले मेयरबाट राजीनामा दिने तयारी गरेका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ मा उम्मेदवार बन्ने भएपछि उनी यस्तो तयारीमा पुगेका हुन् । बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्न लागेका हुन् ।

झापाबाट चुनाव लड्ने भएपछि रास्वपाले उनका लागि भाडामा घर खोज्न थालेको छ । रास्वपा झापा अध्यक्ष प्रकाश पाठकका अनुसार दमक–३ स्थित क्याम्पस मोड आसपास दुई वटा घर टुंगो लागिसकेको छ भने अर्को एउटा घर पनि खोजि भइरहेको छ ।

बालेन शाह झापा–५ बाट उम्मेदवार बन्ने भएपछि उनको आवास प्रयोजन, सम्पर्क कार्यालयलाई समेत गरी तीनवटा घर खोजेको पाठकले बताए ।

बालेन चुनाव लड्ने भएपछि उनीनिकट केही इन्फ्लुएन्सरहरूले सर्भेक्षण पनि गरिरहेका छन् । प्रारम्भिक सर्भेक्षण यसअघि पनि गरेको उनीहरूले बताएका छन् ।

झापा–५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यस क्षेत्रमा ओली २०६४ मा बाहेक पराजित भएका छैनन् । झापा–५ मा १ लाख ६३ हजार ३७९ जना मतदाता रहेका छन् । त्यहाँ ६१ मतदान स्थल र १८५ केन्द्र तोकिएका छन् ।

प्रतिक्रिया