बुटवलमा भूकम्प सिकाइ सम्बन्धी प्रदर्शनी सम्पन्न
अखबार टुडे
प्रकाशित:
२०८२, १ माघ

बुटवल । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यू होराइजन स्कुल बुटवलको सहकार्यमा बुटवलमा भूकम्प सिकाइ प्रदर्शनी सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न प्रदर्शनीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न नवीनतम प्रविधि र सीप सिकाइलाई अवलम्बन गर्न आवश्यक भएको बताए ।
मुख्यमन्त्री आचार्यले भूकम्पको विपद् पूर्वसूचना गरेर नआउने भएकाले पूर्व तयारी र सतर्कता सधैं चुस्त राखिनु पर्नेमा जोड दिए । ‘यसलाई सिकाइको रूपमा लिन जरुरी छ । भावी दिनमा हुन सक्ने भूकम्पीय क्षति कम गर्न, भूकम्पबाट कसरी बच्ने र बचाउने भन्ने ज्ञान आत्मसात गर्न आवश्यक छ, उनले भने, ‘हामीले विगतमा धेरै क्षति बेहोरेका छौं ।

विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायमा भूकम्पसम्बन्धी वैज्ञानिक ज्ञान विस्तार गर्दै जोखिम न्यूनीकरणका उपायप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा रुपन्देही जिल्लाका २५ वटा विद्यालयका करिव ४ हजार विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै नास्टका वैज्ञानिक डा. सुरेशकुमार ढुंगेलले नेपाल भूकम्पीय जोखिमयुक्त मुलुक भएकाले विद्यालय तहदेखि नै वैज्ञानिक जानकारी र व्यवहारिक तयारी आवश्यक हुने बताए । यसको लागि यस्ता प्रदर्शनात्मक कार्यक्रम अत्यन्त उपयोगी हुने उनको भनाइ छ ।

न्यू होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्यायले विद्यालय केवल पठनपाठनको केन्द्र मात्र नभइ जीवन उपयोगी ज्ञान सिक्ने स्थल भएकाले नास्टसँगको सहकार्यले विद्यार्थीहरूमा भूकम्पीय सचेतना र व्यवहारिक सीप विकासमा ठूलो योगदान पुग्ने बताए ।

वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीले भूकम्प पूर्वतयारी र सही सूचना नै क्षति न्यूनीकरणको मूल आधार रहेको बताए । भूकम्प कहिले आउँछ भन्ने थाहा नपाए पनि आउँदा कसरी सुरक्षित रहने भन्ने ज्ञान सिकाउन आवश्यक भएको उनको भनाइ छ ।

कार्यक्रमका संयोजक तथा नास्टका भूकम्पविद डा. शिव सुवेदीका अनुसार कार्यक्रममा भूकम्पको उत्पत्ति, प्लेट टेक्टोनिक्स, नेपालमा देखिने भूकम्पीय प्रवृत्ति, सुरक्षित संरचना निर्माण तथा व्यक्तिगत सुरक्षाका उपायहरू प्रदर्शनात्मक रूपमा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया