सरकारले खटायो देशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत
अखबार टुडे
प्रकाशित:
२०८२, १३ भाद्र

काठमाडौं । सरकारले देशभरका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । यसअघि निमित्तको भरको चल्दै आएको स्थानीय तहमा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले देशका कुनै पनि नगरपालिका र गाउँपालिका अब निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने बताएकी छन् । उनले निमित्तको भरमा सञ्चालित देशभरका दुईसय पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुबमा लेखेकी छन्, ‘सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो, यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्छ। यो काममा म निरन्तर लागिरहेकी छु । मैले कार्यभार समाल्दा देशभरीका ७५३ मध्ये २०० पालिका निमित्तका भरमा चलिरहेका थिए । आजबाट देशभरीका गाउँपालिका र नगरपालिकालाई निमित्त विहीन बनाइएको जानकारी गराउँछु ।’

आफू मन्त्री बन्दै गर्दा सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने भनेर गरेको घोषणा कार्यान्वयन गरिएको पनि मन्त्री न्यौपानेले बताएकी छन् ।

‘यस क्रममा मैले घोषणा गरेकी थिएँ, स्थानीय तह निमित्त कार्यालय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गर्छु । देश र जनतालाई केन्द्रमा राखेर मैले यो निर्णय गर्नैपर्ने थियो’ मन्त्री न्यौपानले भनेकी छन्, ‘जिम्मेवारी पाउने कर्मचारी मित्रहरूलाई हार्दिक बधाई दिन्छु ।’

प्रतिक्रिया