सप्तरीमा प्रहरी र तस्करबीच भीडन्त, एकजनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८२, २२ श्रावण

सप्तरी । सप्तरीमा प्रहरीले गोली चलाएको छ । सप्तरीको नेपाल–भारत सीमावर्ती क्षेत्र राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीले गएराति करिब साढे १० बजे गोली तस्करमाथि चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार तस्कर समूहले प्रहरी टोलीमाथि आक्रमण गर्दा प्रतिरक्षामा प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा राजगढ–२ कै ३५ वर्षीय लालु यादव छन् । डिएसपी बस्नेतले उनको तिघ्रामा गोली लागेको र उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको बताए ।

उनका अनुसार त्यो ठाउँमा ठूलो मात्रामा मदिरा अवैध रूपमा लुकाइछिपाइ राखिएको छ भन्ने सूचना पाएपछि प्रहरीले अप्रेशन गरेको थियो । जहाँ इन्स्पेक्टर नेतृत्वमा प्रहरी टोली खटाइएको थियो ।

प्रहरी पुगेपछि त्यहाँ झन्डै सय जना मानिसले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । उनीहरूले लाठी र घरेलु हतियारसहित प्रहरीलाई घेर्न पुगेपछि प्रहरीले हवाई फायर गरेको थियो ।

डिएसपी बस्नेतले भने, ‘३÷४ राउन्ड हवाइ फायर गर्दा पनि उनीहरू त्यहाँबाट भागेनन्। उल्टै प्रहरीमाथि आक्रमण गर्न थाले। त्यसपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको थियो ।’

प्रहरीले गोली चलाएपछि भिड तितरबितर भएको थियो । प्रहरीले त्यहाँबाट ठूलो मात्रामा मदिरा बरामद पनि गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया