नयाँ आर्थिक वर्ष सुरु : राजस्व १ खर्ब २० अर्बले बढ्यो
अखबार टुडे
प्रकाशित:
२०८२, २ श्रावण

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा एक खर्ब २० अर्ब बढी हो ।

प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो भने अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो ।

संशोधित लक्ष्यअनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ । अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीका अनुसार विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं’ उनले भने, ‘त्यसका लागि तयारी सुरु गरिसकेका छौं ।’ चालु आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब राजस्व संकलनको लक्ष्य छ ।

आर्थिक वर्ष २०७१/०७२ मा चार खर्ब पाँच अर्ब, २०७२/०७३ मा चार खर्ब ८१ अर्ब, २०७३/०७४ मा ६ खर्ब ९ अर्ब, २०७४÷०७५ मा सात खर्ब २६ अर्ब, २०७५/०७६ मा आठ खर्ब २९ अर्ब राजस्व संकलन भएको थियो ।

त्यस्तै, २०७६/०७७ मा सात खर्ब ९३ अर्ब, २०७७/०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८/०७९ मा १० खर्ब ६६ अर्ब, २०७९/०८० मा ९ खर्ब ५७ अर्ब र २०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।

प्रतिक्रिया