
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुस्त अर्थतन्त्र गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याएको छ । केन्द्रीय बैंकले राष्ट्रिय परिदृष्य पनि मध्यनजर गर्दै लचिलो मौद्रिक नीति ल्याएको हो ।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८/०८३ को मौद्रिक नीति सार्वजिनक गरेका हुन् ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएको छ । केन्द्रीय बैंकले स्थायी तरलता दर अर्थात् बैंक दर ०.५ प्रतिशत बिन्दुले घटाइ ६ प्रतिशतमा झारेको छ ।
त्यस्तै, नीतिगत दर ५ प्रतिशतबाट घटाइ ४.५ प्रतिशत बनाइएको छ । साथै, केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन दर पनि ३ प्रतिशतबाट घटाइ २.७५ प्रतिशत बनाइएको छ ।
त्यसैगरी आगामी आवको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि १२ प्रतिशत प्रक्षेपण गरेको छ । अधिक तरलताले ब्याजदर घटाएको सहज परिस्थितिमा मौद्रिक नीतिको कार्यदिशा लचिलो अवलम्बन गरिएको गभर्नर प्रा. डा. पौडेलले बताए ।
