
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउन युवालाई प्रेरित गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रजनन क्षमता बढी भएको बेलामै सन्तान जन्माउन राम्रो हुने बताएका हुन् ।
उनले भने, ‘मेरा सन्तान छैनन्, किन भएनन् भनेर उपचार पनि गराइन । यति साह्रो व्यस्त हुनुपनि भएन ।’ प्रधानमन्त्री ओलीले विकास र समृद्धिसँगसँगै जनसंख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताउँदै युवालाई समयमै विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरे ।
सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र ४० कटेपछि रमाउला भन्ने गीतमा नअल्मन उनले आग्रह गरे । उनले शक्तिशाली राष्ट्रहरूतर्फ संकेत गर्दै आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरूले त्यो धन्दा छाड्नुपर्ने बताए ।
‘सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान अर्को छैन । कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरू यो धन्दा छोड । जनसङ्ख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनासका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन । जनसाङ्ख्यिक असन्तुलनलाई कायम रहन दिनु हुँदैन’ उनको भनाइ छ ।
सन्ताले डाँडाकाढा ढाकुन् नभन भनेर जनचेतना फैलाउँदा उल्टो असर परेर सन्तान नै नपाउने स्थिति भएकातर्फ चिन्ता व्यक्त गर्दै उनले विकास भएका देशमा पनि जनसंख्या ऋणात्मक हुँदा मानव अस्तित्वको खतरा देखिएको बताए ।
