प्रमुख दलका शीर्ष नेताले विश्राम लिए अहिले देखिएको सडक आन्दोलन आफैँ हट्छ : गगन थापा
अखबार टुडे
प्रकाशित:
२०८२, १८ जेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला दलका शीर्ष नेताहरूले विश्राम लिएकै दिनदेखि सडकमा कुनै आन्दोलनहरु देखा नपर्ने बताएका छन् । शनिबार ‘गणतन्त्र नै सही बाटो’ शीर्षकको संवाद कार्यक्रममा उनले शीर्ष नेताहरूले विश्राम लिन उपयुक्त हुने बताएका हुन् ।

गणतन्त्रको सबैभन्दा आधारभूत विषय भनेकै राजनीतिक दल भएको भन्दै महामन्त्री थापाले दलभित्र एउटै व्यक्तिहरू नेतृत्वमा रहिरहेको घटना नेपालमा बाहेक विरलैमात्र देखिने बताए ।

‘जहाँ चाहिँ समाजले अस्वीकार गरेको कुनै व्यक्ति, म पात्रमा भएको होइन । यति लामो समयसम्म एउटै अनुहार एउटै भूमिकामा रहने चाहिँ विरलैमात्र हुन्छ होला । हाम्रो डेमोक्रेसीको सबैभन्दा ठूलो समस्या नै यही हो’ महामन्त्री थापाले राजावादीहरुको आन्दोलनलाई लक्षित गर्दै भने, ‘मैले खुला भनेको छु, नेपालका ठूला पार्टीका ठूला नेताहरूले आजको दिनबाट हामीले आआफ्नो दलबाट विश्राम लियौँ भन्नुभयो भने आजकै दिनबाट यो आन्दोलन केही बाँकी रहँदैन । सबै घर फर्किन्छन् ।’

प्रतिक्रिया