विप्लवले दुई लाख केजी आलु फलाए, सबै चौधरीले किने
अखबार टुडे
प्रकाशित:
२०८२, १४ जेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफूले दुई लाख किलो आलु विनोद चौधरीलाई बेचेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले सोमबार बेलुकी आयोजना गरेको भेटघाट कार्यक्रममा उनले नेपालकै धनी उद्योगी विनोद चौधरीलाई आफूहरूले उत्पादन गरेर आलु बिक्री गरेको बताएका हुन् ।

उनले भने, ‘आलु त हामीले विनोद चौधरीलाई नै दियौं र अस्ति उहाँसँग काठमाडौंमा भेट पनि भएको थियो । उहाँले मेरो लागि त त्यो एउटा मिरेकल जस्तै हो भन्नुभएको थियो ।’ उनले सोचेभन्दा धेरै आलु उत्पादन गरी दिएपछि चौधरी छक्क परेको बताए ।

‘उहाँलाई लागेको हुँदो हो यिनीहरूले बढीमा बिस–तिस हजार किलो आलु उत्पादन गर्ने भनेर,’ उनले भने, ‘तर हामीले भनेको टार्गेट भन्दा बढी उहाँलाई उपलब्ध गराएका थियौं, लगभग दुई लाख किलो आलु हामीले उहाँलाई उपलब्ध गरायौं ।’

चौधरीले हालसम्म आफूलाई आलु सप्लाइ गर्ने सबैभन्दा ठूलो इकाइ नेकपा रहेको कुरापनि आफूसँग गरेको विप्लवले बताए । पछिल्लो समय आफूले कैलालीका आलु किसानसँग अन्तरक्रिया गरेपछि उनीहरू उत्साहित भएको उनले बताए ।

पूँजी निर्माणका लागि आफ्नो पार्टीले काठमाडौंसहित नेपालका विभिन्न तीन ठाउँमा साना उद्योगहरूको सुरूवात गरेको र ती सबै नाफामा चलिरहेको उनले बताए ।

पहाडमा भेडा पाल्ने किसानलाई माओवादीकै मान्छेहरूले विप्लवको पार्टीले ठग्छ भनेर रूने नै बनाएको उनले बताए । उनले भने, ‘भेडा पाल्ने किसानलाई रुने नै बनाएका छन् के, त्यो पनि माओवादी समर्थकहरू नै गएर । नेकपालाई दिनुहुन्न, उनीहरू ठगी हाल्छन् अब तेरो भेडापनि गयो पैसा पनि गयो भनेछन् । म ठिक्क त्यहाँ पुगे र हामीले एकैपटक सबै पैसा दिन सक्दैनौं खण्डखण्डमा दिन्छौं भनेपछि उहाँले विश्वास गर्नुभयो ।’

प्रतिक्रिया