
काठमाडौं । भारत प्रशासित जम्मू कश्मीरमा आतंकवादीले आक्रमणमा गर्दा एक नेपाली नागरिकसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ । कश्मीरको पहलगामनजिकै भएको उक्त घटनामा परेका नेपाली नागरिक रूपन्देहीका बासिन्दा भएको र उनी आफ्नी आमासहित कश्मीर घुम्न गएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
‘भारतको स्विट्जरल्यान्ड’ भनेर चिनिने कश्मीरस्थित लोकप्रिय पर्यटकीय स्थल पहलगाममा मंगलवार त्यहाँ घुम्न गएका पर्यटकहरूलाई निसाना बनाएर आतंकवादीले आक्रमण गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई ‘आतंकवादी हमला’ भनेका छन् र त्यसमा जिम्मेवार जोकोहीलाई पनि नछोडिने बताएका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आक्रमणको निन्दा गर्दै ‘आतंकवादविरुद्धको लडाइँ’मा भारतसँगै उभिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली राजदूतावासका अनुसार बुटवल घर भएको एउटा परिवार कश्मीर घुम्न भएको थियो । मृतक धरानमा अध्ययरत सुदीप न्यौपाने भएको उनका आफन्तहरूले पुष्टि गरेका छन् । दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाका अनुसार आफन्तहरूसँग घुम्न गएका बुटवलका नेपाली युवकको गोली प्रहारबाट मृत्यु भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन् । उनीसँगै उनकी आमालाई पनि भाग्ने क्रममा चोटपटक लागेको र अवस्था सामान्य रहेको नेपाली दूतावासले जनाएको छ ।
बुटवल–४ का वडाध्यक्ष दधिराम न्यौपालेले मृतक आफ्ना भतिज रहेको बीबीसीले उल्लेख गरेको छ । सुदीप न्यौपाने र अरू आफन्त शनिवार नेपालबाट हिँडेका थिए । मृतकका बुवा भने बुटवलमै छन् । उनी शव बुझ्न काठमाण्डू जाने तयारीमा रहेको बताइएको छ ।
सुदीप न्यौपाने स्नातक तहमा पढ्दै गरेको र अविवाहित रहेको बुझिएको छ । भारतीय सञ्चार माध्यमले नेपाली नागरिकको मृत्यु भएको विवरण प्रकाशित गरेपछि नेपाली अधिकारीहरूले त्यसबारे खोजी गरेका थिए । नेपाली दूतावासका अनुसार उक्त क्षेत्रमा घुम्न र मौसमी कामदारका रूपमा नेपालीहरू पनि जाने गरेका छन् ।