
पर्सा । पर्साको वीरगञ्जमा कर्फ्यू जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ साढे ६ बजेदेखि आइतबार मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरेको हो ।
शनिबार दिउँसो दुई धार्मिक समूहबीचको झडपले वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि कफ्र्यू लगाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताएका छन् । प्रशासनले वीरगन्ज महानगरभित्रका ४ क्षेत्रमा कफ्र्यू लगाएको उनले बताए ।
उनका अनुसार पूर्वमा भेडियानी चोक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य चोक तोकेर कफ्र्यू लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार दुई धार्मिक समूह (हिन्दू र मुस्लिम) बीच झडप भएपछि शनिबार दिउँसो स्थिति तनावग्रस्त बनेको थियो । शनिबार दिउँसो हनुमान जन्मोत्सवको अवसरमा शोभा यात्रा आयोजना गरिएको थियो ।
झन्डै १५ हजार मानिसहरू शान्तिपूर्ण ढंगले शोभा यात्र गरिरहेकाहरू वीरगन्ज महानगरपालिका–२ श्रीराम हलनजिक जामा मस्जिदअगाडि पुगेपछि भड्किएको थियो । उनीहरूले मस्जिदबाट आफूहरूमाथि ढुंगा प्रहार भएको बताउँदै मस्जिदतर्फ ढुंगामुढा गरेका थिए ।
त्यसपछि दुईपक्षबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले बल प्रयोग गरेको थियो । वीरगन्ज हनुमान जयन्तीका दिन बर्सेनि तनावग्रस्त बन्छ । शनिबार पनि स्थिति प्रतिकूल आकलन गरी सशस्त्र प्रहरीसहित १ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
झडपको स्थिति बनेपछि नेपाल प्रहरीबाट ४६ राउन्ड अश्रुग्यास प्रहार गरिएको २ राउन्ड हवाइ फायर गरिएको एसपी मिश्रले बताए । स्थितिलाई नियन्त्रणमा लिने क्रममा आफूसहित केही प्रहरी र सशस्त्र प्रहरी पनि घाइते भएको एसपी मिश्रले बताए ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार घटनालाई नियन्त्रणमा लिन खोज्दा ८ जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् ।
