तीनकुने प्रदर्शनका ‘जनकमान्डर’ दुर्गा प्रसाई पक्राउ
अखबार टुडे
प्रकाशित:
२०८१, २८ चैत्र

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका ‘जनकमान्डर’ दुर्गा प्रसाई दुई सातापछि पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता दिनेश आचार्यले प्रसाईलाई शुक्रवार झापामा पक्राउ गरिएको जानकारी दिए ।

‘तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाई र उक्त घटनामा संलग्न निजका अङ्गरक्षक दीपक खड्कालाई झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि काठमाण्डू ल्याइँदै गरिएको बेहोरा जानकारी गराइन्छ’ प्रहरी प्रवक्ता आचार्यले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

प्रसाईको नाममा सञ्चालित एउटा फेसबुक पेजमा उनले असम प्रहरीसमक्ष ‘आत्मसमर्पण’ गरेको दाबी गरिएको थियो । बिहीवार मध्यरातपछि उक्त पेजमा लेखिएको छ, ‘भागेको होइन, बर्बर दमनबाट ज्यान जोगाएको ।’ तर उनको भेरिफाइड अकाउन्टमा भने मार्च २८ पछि नयाँ कुरा पोस्ट भएको छैन ।

राजसंस्था पुनर्बहालीको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दा निजी तथा सरकारी भवन, कार्यालय तथा सवारीसाधनमा आगजनी र तोडफोड भएपछि सरकारले प्रसाईको खोजी गरिरहेको थियो । प्रहरीले उनलाई शुक्रवार नै काठमाण्डू ल्याउन लागेको छ। दुई दिनअघि उनले आफू आत्मसमर्पण गर्न तयार रहेको भन्दै सामाजिक सञ्जालमार्फत् एउटा भिडिओ सार्वजनिक गरेका थिए ।

विद्युतीय कारोबार ऐन उल्लङ्घन गरेको आरोपमा प्रहरीले प्रसाईलाई गत असोज महिनामा पनि पक्राउ गरेको थियो ।
तीनकुनेमा प्रदर्शनकारी र प्रहरीबीच तनाव उत्पन्न हुँदा त्यसको छायाङ्कन गरिरहेका एक पत्रकारको एउटा भवनमा जलेर मृत्यु भएको थियो । अर्का एक व्यक्तिको प्रहरीले प्रहार गरेको गोली लागेर ज्यान भएको थियो । राजावादी पक्षले उक्त दिन चर्को आफूहरूमाथि चर्को दमन गरेको आरोप लगाउँदै आएका छन् ।

तीनकुनेमा भएको कार्यक्रम हिंसात्मक भएपछि प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीसहित करिब १७० जनालाई पक्राउ गरेको थियो । प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहँदा तीनकुनेबाट बाहिरिएका प्रसाईँ त्यसलगत्तै भारत गएको अनुमान प्रहरीले गरेको थियो । पक्राउ परेका प्रसाइँलाई अहिले काठमाडौं ल्याइदैछ ।

प्रतिक्रिया