
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति पाँच वर्षको अविधमा ५९ लाख रुपैयाँ बढेको छ । नेपाल राष्ट्र बैंकले पूर्वगभर्नर अधिकारीको सम्पत्ति सार्वजनिक गरेको हो ।
अधिकारीको शुक्रबार गभर्नर पद सकिएको थियो । राष्ट्र बैंकका अनुसार अधिकारीको डलरमा रहेको निक्षेप रकम २६ हजार डलरले बढेको छ । गभर्नर हुनुअघि उनीसँग डलर खातामा २ हजार ३ सय २ डलर रहेकोमा अहिले बढेर २८ हजार ६ सय ८ डलर पुगेको हो ।
सार्वजनिक सम्पत्ति विवरणअनुसार विगत पाँच वर्षमा अन्य सम्पत्ति भने २३ लाख २४ हजारले बढेको हो । नगद, सुन चाँदी, बैंक मौज्दात र सामूहिक लगानी कोष जस्ता सम्पत्तिमा बढोत्तरी भएको हो । अधिकारीसँग डलरसहित करिब ४ करोड ८ लाख कुल सम्पत्ति रहेको छ ।
राष्ट्र बैंकले दिएको विवरण अनुसार अधिकारी सम्पत्तिमा २८ लाख बैंक मौज्दात, ९ लाख ८८ हजार रुपैयाँ सुन, चाँदी तथा नगद, १ करोड ८९ लाख रुपैयाँ बराबरको म्युचुअल फन्ड तथा सुरक्षणपत्रमा लगानी रहेको छ ।
त्यस्तै, १ करोड ८ लाख रुपैयाँ लागतको जग्गा र ३२ लाख रुपैयाँ लागतको घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

