
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा स्वतन्त्र नागरिक युवाले प्रदर्शन गरेका छन् । मंगलबार काठमाडौंको माइतीघर मण्डलामा उनीहरूले प्रदर्शन गरेका हुन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको सत्तारुढ दलकै नेताहरूले समेत विरोध प्रदर्शन गरेका छन् ।
यो निर्णयलाई लिएर सत्तारूढ नेपाली कांग्रेसकै कतिपय मन्त्री र नेताहरूले समेत विरोध गरेका छन् भने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले विरोध गरेका छन् ।
कुलमानलाई बर्खास्त गर्ने निर्णयलगत्तै मंगलबार बिहानैबाट रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा सुरक्षा बढाइएको छ ।
माइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’, ‘नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ’, ‘हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै’ ‘जाग्यो जाग्यो जनता अति भयो अब त’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।
यस्तै, आजै घिसिङलाई बर्खात गरिएको विरोधमा नेकपा माओवादी केन्द्र निकट संगठनले पनि प्रदर्शन गर्दैछ । साथै, घिसिङलाई हटाइएको विरोधमा समाजिक सञ्जालमा तिव्र विरोध भइरहेको छ ।