इजरायलद्वारा गाजामाथि भीषण हवाई आक्रमण, हमासका शीर्ष नेता मारिए
अखबार टुडे
प्रकाशित:
२०८१, ९ चैत्र

काठमाडौं । इजरायली आक्रमणमा परी हमासका शीर्ष नेताको मृत्यु भएको छ । आइतबार गाजाको दक्षिणी भूभाग खान युनिसमा इजरायलले गरेको हवाई आक्रमणमा परी हमासका राजनीतिक नेता सलाह अल बर्दाविलसहित उनकी श्रीमती पनि मारिएकी छन् ।

अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बर्दविल हमासको राजनीति समितिको शीर्षमध्येका एक सदस्य थिए । इजरायली आक्रमण परी उनको मृत्यु भएको हमासका अधिकारीहरूले पुष्टी गरेका छन् ।

रोयटर्सका अनुसार हमासका प्रेस सल्लाहकार तहिर अल नोनोले समाजिक सञ्जाल फेसबुक पेजमा एक पोस्टमार्फत बर्दाविलको मृत्युमा शोक व्यक्त गरेको छन् । इजरायलले गाजामा दुई महिनापछि ठूलो आक्रमण गरेको हो ।

युद्धविरामबारे इजरायल र हमासबीच मतभेद भएपछि इजरायलले गाजामा पुनः आक्रमण थालेको हो । मंगलबारदेखि इजरायलको आक्रमणमा परी सयौं पेलेस्टाइनीको ज्यान गएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार एकैदिन गाजामा चार सयभन्दा बढीको मृत्यु भएको थियो ।

आइतबार (आज) बिहान गाजाको उत्तरी भूभागमा विस्फोटका ठूला–ठूला आवाज सुनिएको बीबीसीले उल्लेख गरेको छ । समाचारमा जनाइएअनुसार इयरायली युद्ध विमानहरूले विभिन्न ठाउँमा बम खसालेका थिए । लगातार एक घन्टाभन्दा बढी समय गोलाबारीको आवाज सुनिएको समाचारमा उल्लेख छ ।

गाजामा गत माघ ५ गते युद्धविराम भएपछि ४२ दिनसम्म इजरायलले गाजामा खाशै ठूलो आक्रमण गरेको थिएन । ४२ दिनपछि दोस्रो चरणको युद्धविराम सुरू गर्ने सहमति भएपनि त्यो प्रक्रिया अगाडि नबढेपछि अमेरिकाको आग्रहमा गाजामा पहिलो चरणकै युद्धविराम थप ४२ दिन लम्ब्याउने इजरायलले प्रस्ताव गरेको थियो । तर, हमासले सम्झौताअनुसार दोस्रो चरणको युद्धविराम हुनुपर्ने अडान लिएपछि इजरायलले गाजामा हमासलक्षित आक्रमण थालेको बताइएको छ ।

प्रतिक्रिया