
काठमाडौं । बागबजारस्थित पद्मकन्या क्याम्पस (पीके)मा स्ववियु निर्वाचनमा नेविसंघको विद्रोही समूहको प्यानल नै निर्वाचित भएको छ । नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार नेतृत्वको प्यानललाई हराउँदै स्वतन्त्ररुपमा उम्मेदवारी दिएकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको विद्रोही प्यानल निर्वाचित भएको हो ।
परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् । नेविसंघबाट दुईजनाको उम्मेदवारी परेपछि विवाद हुँदा चैत ५ गते हुनुपर्ने स्ववियु निर्वाचन चैत ७ गते मात्र भएको थियो ।
भूपीले ७३० मत पाएर स्ववियु सभापतिमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत पाइन् । यस्तै, सचिवमा भुपी प्यानलकै सन्ध्या बस्याल ६९५ मतसहित र कोषाध्यक्षमा संकल्पिका थापा ६६६ मतसहित निर्वाचित भए भने सचिव पदमा निकटतम प्रतिस्पर्धी विपना न्यौपानेले ३६१ र कोषाध्यक्ष पदकी निकटतम प्रतिस्पर्धी चाँदनी शाहले ४०५ मत पाए ।
पद्मकन्याको स्ववियु निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले गठबन्धन गरेका थिए । सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे उम्मेदवार थिइन् । सचिवमा अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी थियो ।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव निकट अखिल समाजवादीले पनि गठबन्धन गरेका थिए । उनीहरुको गठबन्धनबाट विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादीकी प्रजिता दर्नाल सभापतिको उम्मेदवार थिइन् । उनको प्यानलबाट अरुणा गौतम सचिव र आयुषा पण्डित क्षेत्री कोषाध्यक्षको उम्मेदवार थिए ।