देशभर एकसाथ एसइई सुरु
अखबार टुडे
प्रकाशित:
२०८१, ६ चैत्र

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एसइई सञ्चालन भएको हो ।

विद्यार्थीले आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा दिइरहेका छन् । परीक्षा बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको संख्या ४९ हजार २८६ जना बढेको हो ।

परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ । परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ । आज सुरु भएको एसइई यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया