
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अब धेरै अगाडि नजाने बताएका छन् । बिहीबारदेखि पुनः सुरू हुन लागेको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानका लागि बुधबार बारा पुगेका प्रचण्डले सिमरामा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘त्यो टिक्ने र चल्नेवाला छैन । यसको जन्म नै अप्राकृतिक तरिकाले भएकाले यो धेरै अगाडि जाने कुरा छैन । यसले राष्ट्र र जनताको पक्षमा कुनै राम्रो काम गर्न सक्ने स्थिति पनि छैन ।’
उनले अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउन बनेको सरकार भएकाले यसले सुशासनको पक्षमा काम गर्न सम्भव नहुने दाबी गरे । पछिल्लो उदाहरणका रूपमा कुलमान घिसिङलाई हेरे पुग्ने उनको भनाई थियो ।
‘एउटै कुलमान घिसिङको उदाहरण काफी छ । जसले अँध्यारो नेपाललाई उज्यालो नेपाल बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्यो । त्यसलाई सताउने, ह्युमिलेट गर्ने, चिथोर्ने, कोपर्ने जे पनि गर्ने कोसिस भइराख्यो’ उनले भने । तर, पार्टी र नेपाली जनताले सत्य र न्यायको पक्षमा दरोसँग आवाज उठाएको अब त्यो स्थिति नरहेको उनको दाबी थियो ।
प्रचण्डले भने, ‘जति चिथोरे पनि कोपरे पनि कुलमानलाई हटाउन सक्ने स्थिति अब छैन । त्यहाँको जनताको जित भयो हामी सबैको जित भयो ।’