
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई अन्तिम चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ट्रम्पले सबै इजरायली बन्धकहरूको रिहाइ तल्काल नगरे हमासका लागि यो अन्तिम चेतावनी’ हुने बताएका छन् ।
सामाजिक प्लेटफर्म ट्रुथमा ट्रम्पले लेखेका छन्, ‘यदी हमासले मेरो कुरा मानेनन् भने म इजरायललाई आवश्यक पर्ने सबै कुरा पठाउँछु । हमासका एकजना पनि सदस्य सुरक्षित हुने छैनन् ।’ ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पले यस्तो चेतावनी दिएको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।
बन्धकहरूलाई रिहा गरिएन भने हमासले यसको ठूलो मूल्य चुकाउने ट्रम्पले बताएका छन् । तर, इजरायललाई कस्तो प्रकारको सहयोग पठाउँदैछन् भन्ने कुरा भने खुलाएका छैनन् । उनले भनेका छन्, ‘सबै बन्धकहरूलाई अहिले नै रिहा गर, पछि होइन । मारेकाहरूको शव तुरुन्तै फिर्ता गर, नत्र सबै कुरा सकिन्छ । यो अन्तिम चेतावनी हो ।’
बुधबार गाजा बन्धकहरूको मुद्दामा कतारको राजधानी दोहामा अमेरिका र हमासबीच प्रत्यक्ष वार्ता भएको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बताएकी छन् । उनले वार्ता अघि इजरायलसँग पनि परामर्श गरिएको बताएकी थिइन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले पनि यस कुराको जानकारी दिएको छ । इजरायली अधिकारीहरूले गाजामा अझै पनि लगभग २४ जना जीवित बन्धक रहेको बताएका छन् । यीबाहेक कम्तिमा ३५ अन्य व्यक्तिहरू पनि समावेश रहेको विभिन्न समाचार संस्थाहरुले जनाएका छन् ।