
काठमाडौं । अमेरिकामा अवैधरुपमा बसेका नेपालीहरूलाई लिएर आएको चार्टर जहाज काठमाडौं अवतरण भएको छ । अमेरिकाको अध्यागमन कानुन उल्लंघन गर्ने नेपालीहरूलाई लिएर आएको अमेरिकी चार्टर जहाज बुधबार बिहान ९ः५५ बजे काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा अवतरण भएको हो ।
निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरेका थिए ।
अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलो पटक चार्टर जहाज काठमाडौं आएको हो । चार्टर जहाजमार्फत नेपाल फर्काइनेहरूमा ११ नेपाली रहेका स्रोतको भनाइ छ ।
अमेरिकामा डोनाल्ड ट्रम्पले गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति उनी आक्रामक बनेका छन्। त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ । यसअघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई)ले अवैध नेपालीहरूलाई विभिन्न एयरलायन्सबाट नेपाल फर्काउने गरेको थियाे ।
इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टको रिपोर्टअनुसार अमेरिकामा अवैधरूपमा बसोबास गर्ने नेपालीहरू बढी निशानामा पर्दै आएका छन् ।
