ट्रम्पले रोके युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग
अखबार टुडे
प्रकाशित:
२०८१, २० फाल्गुन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहायता अस्थायीरूपमा रोकेका छन् । यो निर्णय तुरुन्तै लागू हुने र यसले युक्रेनलाई दिने प्रकृयामा रहेको एक अर्ब डलरभन्दा बढीको हतियारलाई प्रभाव पार्ने बताइएको छ ।

द न्यु योर्क टाइम्सले ट्रम्प सरकारका एक अधिकारीलाई उद्धृत गर्दै ट्रम्पले सो निर्णय सोमबार गरेका हुन् । ट्रम्पको यो आदेशले युक्रेनलाई दिइने दसौं करोड डलर पैसा पनि रोक्नेछ । युक्रेन सुरक्षा सहायता पहलमार्फत् दिइने यो पैसाले युक्रेनले रूससँग लड्न अमेरिकी हतियार उत्पादकहरूबाट सिधै नयाँ सैन्य सामाग्री किन्न पनि सक्छ ।

युक्रेनले रूससँग शान्ति वार्ता गर्न प्रतिबद्धता देखाएको ट्रम्पले निर्धारण नगरिञ्जेल यो आदेश लागू हुने ती अधिकारीले बताएको समाचारमा उल्लेख छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको शुक्रबार ह्वाइट हाउसमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भएको चर्काचर्कीको ७२ घण्टा नपुग्दै ट्रम्पले युक्रेनलाई दिइरहेको सहायता रोकेका हुन् । युक्रेनप्रति आक्रामक नीति अँगालेका ट्रम्पको विदेश नीति रूससँग मिल्ने भएको भनेर रूस अधिकारीले पनि भन्न थालेका छन् ।


रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकालाई ट्रम्पले द्रुत गतिमा रूससँग नजिक ल्याइरहेको बताएका छन् ।‘नयाँ प्रशासनले सबै विदेश नीति संरचनाहरूलाई तीव्र रूपमा परिवर्तन गरिरहेको छ। यो धेरै हदसम्म हाम्रो दृष्टिकोणसँग मेल खान्छ,’ पेस्कोभले रूसको सरकारी टेलिभिजनसँग भनेका छन् ।


पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले गत वर्ष चुनाव प्रचार क्रममै आफूले जिते रूस–युक्रेन युद्ध २४ घण्टाभित्रै रोकिदिने घोषणा गरेका थिए । कसरी रोक्ने भनेर नखुलाए पनि सैन्य सहायता रोक्ने धम्की दिएर युक्रेनलाई रूसको सर्त मान्न दबाब दिने अनुमान गरिएको थियो ।

ट्रम्पले गत जनवरी २० मा कार्यभार सम्हालेका थिए । त्यसपछि युद्ध रोक्ने काम सोचे जस्तो सजिलो नभएको थाहा पाएर उनका अधिकारीहरूले सय दिनसम्म लाग्न सक्ने बताउन थालेका थिए । तर रूसले युक्रेनमा आक्रमण गरेको तेस्रो वर्षगाँठ नजिकिँदै जाँदा ट्रम्पले एक्कासि पुटिनसँग टेलिफोनमा कुरा गरेर वार्तालाई तीव्रता दिएका छन् ।

ट्रम्पले पुटिनसँग फेब्रुअरी १२ मा टेलिफोन संवाद गरेपछि युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रूसबीच साउदी अरेबियामा वार्ता हुने घोषणा गरे । सो वार्तामा अमेरिकाले युक्रेन र कुनै पनि युरोपेली देशलाई निमन्त्रणा दिएन ।

युक्रेन र युरोपेली देशका कुनै प्रतिनिधि बेगर साउदी अरेबियाको राजधानी रियादमा फेब्रुअरी १८ मा अमेरिका र रूसले वार्ता पनि गरे । वार्ताअघि नै ट्रम्पले युक्रेनलाई नेटो सदस्यता नदिने र रूसले २०१४ पछि कब्जा गरेको भूमि युक्रेनले फिर्ता नपाउने भनेका थिए । रूसले भने केही पनि त्याग्नुपर्ने माग नगरेकाले धेरैले उनलाई रूसको पक्ष लिएको आरोप लगाउँदै आएका छन् ।

ट्रम्पले युक्रेनमाथि जबर्जस्ती खनिज सम्झौता लाद्न खोज्दैछन् । उनले युक्रनेलाई सैन्य सहायता जारी राखे वापत नभएर, पूर्वराष्ट्रपति जो बाइडेनले दिएको सहायताको भर्पाइका लागि युक्रेनको दुर्लभ खनिज पदार्थबाट आउने कमाइको आधा हिस्सा अमेरिकालाई दिनुपर्ने सर्त राखेका छन् । देश बेच्ने खालको त्यस्तो सम्झौता गर्दिनँ भनेर जेलेन्स्कीले सुरूमा उनको प्रस्ताव अस्वीकार गरेपछि ट्रम्प जेलेन्स्कीमाथि खनिएका थिए ।

ट्रम्पले सत्ता सम्हालेपछि जुन गतिमा विदेश नीति परिवर्तन गरेर रूसलाई फाइदा हुने काम र कुरा गरिरहेका छन् । त्यसले स्वयं रूसी अधिकारीहरू नै अचम्ममा परेको भनेर कति पश्चिमा मिडियाले लेखेका छन् ।

ट्रम्पले रूसको पक्ष किन लिएका हुन् भनेर ठ्याक्कै खुलेको छैन । शीत युद्ध कालमा तत्कालीन सोभियत संघबाट चीनलाई अमेरिकाले अलग पारेजसरी नै उनले अहिले रूसलाई चीनबाट टाढा लैजान खोजेको उनीहरूको जिकिर छ ।

प्रतिक्रिया