
काठमाडौं । ताप्लेजुङको पाथीभरा ‘मुकुम्लुङ) क्षेत्रमा केबलकारको निर्माण गर्ने पक्ष र ‘नो केवलकार’ पक्षबीचको प्रदर्शन चर्किएपछि प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा टोली खटिएको छ ।
मुकुम्लुङ क्षेत्रमा केवलकारको विरोधमा रहेको पक्षले बिहीबार प्रदर्शन गर्दै निर्माणस्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । झडपमा १२ प्रहरीसहित १३ जना घाइते भएका थिए ।
बिहीबार नै मानव अधिकारकर्मी र रेडक्रसकर्मी सवार गाडीमा ‘नो केबलकार’ पक्षले आक्रमण गरेको थियो । सो समूहको आक्रमणबाट सवारी चालक घाइते भएका छन् । प्रहरीका अनुसार पाथीभरा क्षेत्रमा केबलकार बनाउनुपर्ने पक्ष र विपक्षमा रहेको समूह भेला भएका छन् ।
अवस्था जटिल बन्ने देखिएपछि प्रदेश प्रहरी कार्यालयबाट समन्वयका लागि प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालको नेतृत्वमा टोली खटिएको हो । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारीका अनुसार दुवैपक्षसँग समन्वय गरेर अवस्था सामान्य बनाउनका लागि प्रदेशबाट टोली खटिएको हो । टोलीले पाथीभरा क्षेत्रको बस्तुस्थितिको पनि अध्ययन गर्नेछ ।
पक्ष र विपक्षको समूह भेला भएपछि प्रहरीले पाथीभरा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । प्रहरी स्रोतका अनुसार ‘नो केबलकार’ पक्षका करिब ३ सयजना पाथीभरा क्षेत्रमा छन् । यो समूहमा राष्ट्रिय मुक्ती पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र महतो पनि सहभागी छन् । केबलकार बनाउनुपर्छ भन्ने पक्षका करिब २ सय जना छन् ।
पक्षमा रहेको समूह केबलकार बनाउनुपर्ने अडानमा छ भने विपक्षमा रहेको समूह कुनैपनि हालतमा रोक्नुपर्ने अडानमा छन् । पक्ष र विपक्षबीच झडपको स्थिति बनेपछि निर्माण क्षेत्रमा रहेको जेसिबी फिर्ता ल्याइएको छ । सरकारले गठन गरेको वार्ता समिति र नो केबलकार पक्षबीचको छलफल निष्कर्षमा नपुगेपछि पहिचानवादीहरु पाथीभरा क्षेत्रमा पदयात्रा गर्ने भन्दै पुगेका छन् ।
