
काठमाडौं । सन् २००८ नोभेम्बर २६ मा मुम्बईमा भएको आतंकवादी आक्रमण घटनाको एक अभियुक्तलाई अमेरिकाले भारत सुपुर्दुगी गर्ने भएकोा छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहीबार ह्वाइट हाउसमा स्वागत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले मुम्बई आक्रमणका अभियुक्तलाई भारत सुपुर्दुगी गर्न अमेरिका तयार रहेको बताएका छन् ।
मुम्बईमा भएको आतंकवादी उक्त हमलाको एक अभियुक्त तहववुर राना हाल लस एन्जलसको जेलमा छन् । उनी पाकिस्तानी मूलका क्यानाडेली नागरिक हुन् । पाकिस्तानी मूलका उनी अमेरिकन ‘आतंककारी’ डेभिड कोलम्यान हेडलीका निकट पात्र रहेको भारतीय पत्रिका ‘द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । मुम्बईमा भएको आतंकवादी आक्रमणको कोलम्यान मुख्य योजनाकारमध्येका एक भनिएको छ ।
‘अमेरिका एक हिंस्रक व्यक्तिलाई भारत फिर्ता पठाउँदैछ,’ ट्रम्पले ह्वाइट हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भनेको पत्रिकाले उल्लेख गरेको छ । मुम्बईको नरसंहार घटनाको अभियुक्त भारतलाई दिने निर्णय भएकोमा राष्ट्रपति ट्रम्पप्रति मोदीले आभार व्यक्त गरेका छन् । अभियुक्तबारे अब भारतको अदालतले उचित निर्णय गर्ने मोदीले बताएका छन् ।
ट्रम्प र मोदी दुवैले आतंकवादविरूद्ध अमेरिका र भारत मिलेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । ट्रम्पले भने, ‘हामी भारतको मस्ट वान्टेड अपराधी उसैलाई दिँदैछौं र अपराधविरूद्ध दुई देश मिलेर काम गर्नेछौं ।’
यसअघि भारतको विदेश मन्त्रालयले पनि तहवुर रानालाई सुपुर्दुगी गर्न अनुरोध गर्दै पत्राचार गरेको थियो । तर, तहववुरले आफूलाई भारत सुपुर्दुगी नगर्न अदालतमा अपिल गरेका थिए । उनको अपिललाई जनावरी २१ मा अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । त्यसपछि उनलाई भारत ल्याउने बाटो खुलेको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।