व्यवस्था बदलियो, जनताको अवस्था बदल्न अझै बाँकी छ : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०८१, १ फाल्गुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघर्षले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार अझै बाँकी रहेको बताएका छन् । ३०औं ‘जनयुद्ध दिवस’को अवसरमा बिहीबार शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले आजको दिन हामीले के हासिल गर्यौं र के गर्न बाँकी छ भन्ने समीक्षाको दिन भएको बताउँदै भनेका छन्, ‘हाम्रो संघर्षले व्यवस्था बदलियो तर जनताको अवस्था बदल्ने हाम्रो कार्यभार भने अझै पूरा भइसकेको छैन । दलितका अधिकारहरू संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै विभेद र उत्पीडन कायमै छ । महिलाहरू अझै पनि पूर्ण रूपमा सुरक्षित र स्वतन्त्र हुन सकेका छैनन् । संघीयता अझै संस्थागत भइसकेको छैन । समावेशिता साँचो अर्थमा उपेक्षित र उत्पीडित वर्गलाई राज्यको मूलधारमा ल्याउने गरी पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।’

उनले माओवादी केन्द्र अहिले पनि क्रान्तिको शान्तिपूर्ण मोर्चामा रहेको बताएका छन् । आफूहरू सामू जनविश्वास र जनमतको सम्मानद्वारा समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी रहेको उनले बताएका छन् । जनताप्रति इमानदार हुँदै, संघर्षबाट प्राप्त उपलब्धीहरूलाई संस्थागत गरी समाजवादी क्रान्तिको तयारीमा लामबद्ध हुने ऐतिहासिक अभिभारा हाम्रो अगाडि रहेको पनि उनले उल्लेख गरेका छन् ।

‘इतिहासले सुम्पेको यो कार्यभार पूरा गर्न सुशासन र सामाजिक न्यायसहितको समृद्धिका लागि एकजुट हुन म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु,’ उनले भनेका छन् । अहिलेको पुस्तालाई ‘जनयुद्ध‘ किन आवश्यक थियो र यसले के उपलब्धि हासिल ग¥यो भन्ने प्रश्न मनमा लाग्न सक्ने उनको भनाइ छ ।

‘यो प्रश्न गर्दा जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । यो देशमा सामन्ती शोषण थियो । एउटा वंश र त्यसको वरिपरि घुम्ने सामन्तहरूले जनताको भाग्यको फैसला गर्ने गर्दथे । दलित, महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु लगायतका वर्ग र समुदायमाथि चरम विभेद र उत्पीडन थियो्’ उनले भनेका छन्, ‘त्यो स्थितिमा टालटुल र सुधार गरेर समाजको आमूल रूपान्तरण सम्भव थिएन । यसका विरुद्ध प्रतिरोधको अनिवार्यता नै जनयुद्धका रूपमा प्रकट भएको हो ।’

इतिहासमै पहिलोपटक युगौंदेखि दबाइएका दलित, जनजाति, मधेसी, थारू, महिला, मुस्लिम, सुदूरपश्चिम र कर्णालीबासी लगायत उत्पीडित समुदाय र क्षेत्रसहित आम जनता आफ्ना अधिकारको रक्षाका लागि संघर्षमा होमिएको प्रचण्डको भनाइ छ ।
प्रचण्डले भनेका छन्, ‘राजनीतिक अधिकारदेखि समाजमा यो स्तरको चेतनाको विकास हुने थिएन । त्यसैले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना थियो, हामी यसमा गर्व गर्छौं ।’

जनताको यही प्रतिरोधका कारण आज राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताउँदै जनताले चुनेका प्रतिनिधिहरूबाट संविधान बनेको छ र शासनसत्तामा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित हुने बाटो खुलेको पनि उनले बताएका छन् ।

उनले भनेका छन्, ‘सिंहदरबारमा मुट्ठीभर उच्च सम्भ्रान्त वर्गका हातमा रहेको शक्ति गाउँघरमा पुगेको छ । देशमा तीन तहको सरकारको स्थापना भएको छ । राज्यसत्तामा समानुपातिक समावेशिता सुनिश्चित भएको छ । धर्मनिरपेक्षता कायम भएको छ । आज शासनका हरेक तहमा महिलाहरूको प्रतिनिधित्व अनिवार्य भएको छ । दलितहरूको उपस्थिति सम्भव भएको छ ।’ जनयुद्ध नभएको भए यसखालको अधिकारप्रतिको जागरण, प्राप्ति र यसको अभ्यास सम्भव नभएको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया