
काठमाडौं । इजरायलले युद्धबन्दी रिहा नगरे हमासमाथि पुनः आक्रमण गर्ने बताएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने धम्की दिएको हो ।
यसअघि इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै हमासले बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । हमासको यो घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए । यसलगत्तै इजरायलका प्रधानमन्त्रीले मंगलबार युद्ध अन्त्यको चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लखे गरेका छन् ।
सन् २०२३ को अक्टुबर ७ मा इजरायलको भूमिमा घुसेर हमासले आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । उक्त युद्धको क्रममा ४६ हजार जनाको ज्यान गएपछि सन् २०२५ को जनवरी १५ मा युद्धविराम सम्झौता भएको थियो । सम्झौता कार्यान्वयन भने १९ जनवरीदेखि सुरु भएको थियो ।
युद्धविराम सम्झौता भएसँगै एकअर्काले बन्दी बनाएकाहरुलाई मुक्त गर्ने क्रम चलिरहेको थियो । सोही क्रममा शनिबार हमासले तीन इजरायली बन्दी रिहा गर्ने तयारी थियो । तर, हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या खडा भएको छ ।
प्रधानमन्त्री नेतन्याहुले आफूहरुबाट युद्धविराम उल्लंघन नभएको जिकिर गर्दै आएका छन् । उनले हमासले शनिबार बन्धकहरुलाई मुक्त नगरे पुनः आक्रमण सुरु गर्ने र हमासले पूर्णरुपमा हार स्वीकार नगरेसम्म आक्रमण जारी राख्ने बताएको बीबीसीले जनाएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार हमासको नियन्त्रणमा अझै ७६ जना इजरायलीहरु बन्धक रहेको अनुमान छ । तर, पछिल्लो अवस्थाले इजरायल र हमासबीच पुनः युद्ध सुरु हुने सम्भावना बढेको छ ।